पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीद्वारा विरोध

विरोध प्रदर्शन

पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीद्वारा विरोध

birodh-pokhara-mahanagar

पोखरा । करारका कर्मचारी हटाउने पोखरा महानगरपालिकाको निर्णयप्रति नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका छन् ।

उनीहरुले आज महानगरपालिकाको गेटभित्र व्यानर नै टाँगेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनलाई संसदीय दलका नेता राधिका शाही योगीलगायतले सम्वोधन गरेका थिए । यद्यपी, महानगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङ दुवै विदेश भ्रमणमा गएका छन् ।

धर्ना कार्यक्रम भाेलि बुधबार पनि जारी रहने वडा अध्यक्ष शाहीले जानकारी दिइन । मेयर विदेश भ्रमणमा रहेकाले अहिले धर्ना मात्रै दिइएको र मेयर आएपछि थप कार्यक्रम घाेषणा गरिने उनले बताइन ।

पोखरा महानगरपालिकाको गत बिहीबार सम्पन्न कार्यपालिका बैठकले करारका कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा दिने निर्णय गरेको थियो ।

त्यसपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका थिए । यसअघि महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ, नौ जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विज्ञप्ति प्रकाशित गरी महानगरको निर्णयप्रति आपत्ति जनाएका थिए भने उक्त निर्णय तत्काल खारेज गर्न मागसमेत गरेका थिए ।

महानगर प्रमुखले कानूनी प्रावधान विपरीत निश्चित स्वार्थ समूहको इसारामा उक्त निर्णय गरेको आरोप लगाउँदै उनीहरुले राजनीतिक दललाई पूर्णतः बेवास्ता गरी आफ्ना कमिकमजोरी ढाकछोप गर्न खोजेको टप्पणी गरेका थिए ।

उनीहरुले प्रमुख आचार्यको दुईटा प्रमुख राजनीतिक दलबीच द्वन्द्व गराई क्षणिक लाभ लिने कुत्सित मनसाय रहेको आरोप लगाएका थिए ।

पोखरा महानगरपालिकाका नगर उपप्रमुख बिदामा रहेको र दीपावलीको सार्वजनिक बिदाको मौका छोपी उपप्रमुखसँग बैठकका एजेन्डाका विषयमा सामान्य छलफलसमेत नगरी हुने यस्ता अपारदर्शी निर्णयको जनप्रतिनिधिले आपत्ति जनाएका थिए ।

नगर कार्यपालिका र नगरसभाको शक्ति सन्तुलनलाई आत्मसात गर्दै हालसम्म कार्यपालिका र नगरसभाका सबै निर्णय वार्ता, संवाद र छलफलपश्चात् सर्वसम्मतिमा हुँदै आएको परम्परालाई तोडिएको जनाएका थिए ।

‘नगर प्रमुखले जुन रबैया प्रदर्शन गर्नुभएको छ सोले नगर प्रमुखको नेतृत्व क्षमतामाथि प्रश्न चिन्ह खडा गरेको छ, हामी विधिसम्मत निर्णयको पक्षमा छौँ, मिति २०८१/०७/१५ गतेका दिन गरिएको भनिएको निर्णयमा राजनीतिक गन्ध र वेरीतपूर्वक रहेका तथ्य घाम जत्तिकै छर्लङ्ग छन्, करारमा रहेका कर्मचारीका पद स्थायी पदपूर्ति भएपछि स्वतः म्याद सकिन्छ भन्नेमा हामी स्पष्ट छौँ, तर नगर प्रमुखले नियुक्ति गर्नुभएका ३५ जना भन्दा बढी करार कर्मचारीको हकमा कुनै विधि नचाहिने हो र ?’, विज्ञप्तिमार्फत प्रश्न उठाएका थिए ।

कार्यपालिका बैठकमा छलफल नै नभएका बिषय निर्णय पुस्तिकामा घुसाउँदै गर्दा पटकपटक आफूहरु बयान दिन जानुपर्ने अवस्था आइरहेको भन्दै उनीहरुले निर्णय गर्दा गम्भीर छलफल नभई हतारमा निर्णय गरिहाल्ने र कार्यान्वयन गर्न एक कदम पछाडि हट्ने पोखरा महानगरपालिकाको नियति नै बनेको दुखेसो पोखे । यस्ता निर्णयले महानगरको साख गिरेको उनीहरुको आरोप लगाएका थिए ।

उनीहरुले कार्यपालिकाको निर्णय खारेज गरी पुनः पारदर्शी विधिबाट सबैपक्ष बसी छलफल र निर्णय गर्न आग्रह गर्दै उनीहरुले अन्यथा त्यस्ता गलत निर्णय सच्याउन र यसकाबिरुद्ध संघर्षका कदम चाल्न बाध्य हुने तथा त्यसको जिम्मेवार नगर प्रमुख हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds