पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरेको छ ।
सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखि नै कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुवै निःशुल्क हुने उनले बताए ।
वडाध्यक्ष बास्तोलाले भने ,“सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हाकीले काम गरिरहेका छौँ । सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बिमा गर्नेछौँ ।”
पोखरा–१२ मा अमरसिँह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन विद्यालय छन् । यी विद्यालयमा ४ हजार ३ सय विद्यार्थी अध्ययन गर्दछन् । पारिवारिक बिमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडावासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा गरिएको वडाध्यक्ष बास्तोलाले बताए ।
चालु वर्षमा बिमा कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको वडाले जनाएको छ । स्वास्थ्य विमा कार्यक्रममा वार्षिक रु तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले रु एक लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ । विमा प्रिमियम बापतको रकम वडाले भुक्तानी गर्नेछ ।
बिमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित निवेदन आह्वान गरिएको वडा सचिव शारदा सापकोटाले बताइन् ।
यसैगरी वडाले चालू वर्षदेखी सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गरिएको हो ।
वडाध्यक्ष बास्तोलाले अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको जानकारी दिए । उनले भने, “हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।”
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो