पोखरा । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पुनरावेदन निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ ।
उच्च अदालतमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीश मिलनकुमार राईको इजलासले कास्की जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको हो ।
कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो । सोमबार उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।
जिल्ला अदालतको आदेशमा चित्त नबुझेर कसैले उच्च अदालतको ढोका ढक्ढक्याएमा जिल्लासँग कैफियत प्रतिवेदन मागिन्छ । एकल इजलासले यस्तो आदेश दिन्छ र कैफियत प्राप्त भएपछि त्यसलाई दुईजना न्यायाधीशको संयुक्त इजलासमा लगिन्छ र त्यही इजलासले त्यसको निरुपण गर्छ ।
कानुनी रूपले कैफियत माग गर्नुलाई सामान्य प्रक्रिया मानिन्छ । कैफियत प्रतिवेदनमा मुद्दाको विवरण, आदेश गर्दा अपनाइएको कार्यविधि, आदेश गर्दा आधार मानिएका तथ्य, प्रमाण र कागजातहरूको विवरण पेस हुन्छ ।
रविले धरौटी माग गर्ने जिल्लाको आदेश नै त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी ४ कात्तिकमा जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा करिब २८ करोड रुपैयाँ बिगो माग दाबी गर्दै अभियोजन दर्ता भएकोमा न्यायाधीश नीतिज राईको इजलासले २५ पुसमा ६५ लाख रुपैयाँ धरौटी मागेको थियो ।
न्यायाधीशले धरौटी माग गर्ने आधार र प्रमाण नै बेरितको दाबी गर्दै रविले बदर गर्न माग गरेका हुन् । सहकारीबाट ऋण लिन आफू उपस्थित नभएको, आवेदन नगरेको, आफ्नो खातामा जम्मा नगरेको र कुनै प्रकारको संलग्नता नरहेको पुष्टि हुँदा आफूउपरको अभियोग खण्डित भएको रविले उच्चमा दिएको निवेदनमा उल्लेख छ ।
६५ लाख रुपैयाँ धरौटी लिने गरी भएको आदेशमा गोर्खा मिडिया नेटवर्क प्रालि कम्पनीमा एकल हस्ताक्षर गरी ८१४ वटा चेक काटेर कारोबार गरेको भन्ने बुँदा लगाएकोप्रति पनि उनले प्रश्न उठाएका छन् । विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १२ वर्णित व्यवस्थाको आधारमा कम्पनीको हितमा असल नियतले गर्नुपर्ने कम्पनी कानुनको सिद्दान्त र प्रावधानले निर्दिष्ट गरेको कर्तव्य र दायित्वभित्रको काममात्र गरेको रविको दाबी छ ।
चेकमा हस्ताक्षर गर्ने कार्य फौजदारी कसुरको दायराभित्र पर्न सक्छ भन्ने अनुमान गर्न नमिल्ने हुँदा सुरु आदेश त्रुटिपूर्ण रहेको भन्दै रविले बदर गर्न माग गरेका छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो