तनहुँ । आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो ।
पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ ।
उक्त स्थानमा पुग्ने जो कोही व्यक्ति आनन्द महसुस गर्छन् । उनीहरु यहाँ निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले पर्यटकको ध्यान आकर्षित गरेको छ । यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक आउने गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । उनले भने, “महिनामा रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानी हुने गरेको छ ।”
बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई रु ५०, विद्यार्थीलाई रु ३० र अन्य पालिका तथा बाह्य पर्यटकका लागि रु १०० प्रवेश शुल्क कायम गरिएको छ । गाउँपालिकाले फोहर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ । वर्षायाममा झरना हेर्न र हिउँदमा कलात्मक मूर्ति र आकृति हेर्न पर्यटक यहाँ आउने गरेका छन् ।
बिदामा आन्तरिक पर्यटकको अझ बढी घुइँचो लाग्ने गरेको छ । पर्यटकको आवागमनले पार्किङ क्षेत्रमा असुविधा हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै थप पार्किङको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।
पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान तानेको छ । गर्मीको समयमा झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लाग्छ । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत आकर्षक गन्तव्यस्थल बनेको छ । यो ठाउँ गर्मीमा यात्रा गर्नेका लागि विश्रामस्थल बनेको छ ।
ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । यस पहरामा रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको पर्यटकको सङ्ख्या बढेको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले गुरुयोजना तयार गरेको छ । रासस
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा