पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार एकै दिन कर्मचारी र व्यवसायी माथि हातपात गरेका छन् ।
वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् । यद्यपि, प्रहरीले उजुरी दर्ता भने नगरेको व्यवसायीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे अनुसन्धान भइरहेको सुनाएका छन् । ‘उहाँहरुले आफू माथि कुटपिट भएको भनेर आउनुभएको हो । यसबारेमा अनुसन्धान गरिरहेका छौँ’ – प्रवक्ता हरिबहादुर बस्नेतले भने ।
वडाध्यक्ष पराजुलीले बिहान पोखरा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरीप्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हातपात गरेका हुन् । तालिमको विषयमा सामान्य सोधपुछ भइरहेका बेला उनी आक्रोशित भई अचानक पोखरेलको कठालो समात्दै लछारपछार गर्न थालेका थिए।
महानगरका एक कर्मचारीले भने, ‘प्रमुख प्रशासकीय अधिकृतको बोलावटमा कार्यकक्ष पुगेका पोखरेलमाथि वडाध्यक्षले आक्रोशपूर्वक हातपात गरे। यस्तो दृश्य सार्वजनिक सेवामा अकल्पनीय हो।’
प्रशासन स्रोतका अनुसार मादक पदार्थ सेवन गरेर वडाध्यक्ष पराजुली महानगर गएका थिए ।
महानगरबाट फर्केका वडाध्यक्ष पराजुलीले सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका लेखनाथ सुवेदीलाई हातपात गरे । महानगर प्रहरी लगेर फुटपाथबाट सामग्री उठाउने क्रममा सुवेदी कस्मेटिक्सका सञ्चालक लेखनाथ सुवेदीसँग विवाद भएको थियो । ग्राहकले किनिसकेको सामान भन्दै सुवेदीले रोक्न खोज्दा वडाध्यक्ष पराजुलीले एक्कासी हात हालेर कुटपिट गरे । उनले पनि पराजुलीले मापसे गरेर आएको बताएका छन् ।
पीडित व्यवसायी सुवेदीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेका थिए । तर जनप्रतिनिधि भनेर प्रहरीले दर्ता नगरेको उनको गुनासो छ । “हामी जनप्रतिनिधिबाटै असुरक्षित महसुस गरिरहेका छौं,” सुवेदी भन्छन्, “उहाँले मत माग्दा हामीले भरोसा गरेर जितायौं, आज उही व्यक्तिबाट अपमानित भयौं।”
व्यवसायी कुटपिटको खबर बाहिरिएपछि सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यापारीहरू आक्रोशित भएका छन्। उनीहरूको साझा संस्था ‘सर्वेश्वर व्यवसायी समिति’ले वडाध्यक्ष पराजुलीलाई तत्काल नियन्त्रणमा लिन र कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै मंगलबार नै वडा नंं ४ कार्यालय र कास्की प्रहरी कार्यालयमा घेराउ गरेका छन्। जड्याहा वडाध्यक्षलाई कारबाही गर् जस्ता नारा लगाउँदै नाराबाजी गरेका थिए ।
समितिका अध्यक्ष तुलबहादुर थापा (राजन) ले वडाध्यक्ष पराजुलीलई तुरुन्त कारबाही गर्नुपर्ने माग गरेका छन् । वडाध्यक्ष पराजुली सम्पर्कविहीन छन् । उनको मोबाइलमा सम्पर्क गर्दा अफ भएको सन्देश आउँछ ।
यसैबीच, महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ ।
स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
उक्त घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही नगरे काम बन्द गरेर सङ्घर्षमा उत्रिने चेतावनी कर्मचारीहरूको छ । ‘घटनामा संलग्न व्यक्ति उपर २४ घण्टाभित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अन्यथा वैशाख २४ देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प पारी आन्दोलनका कार्यक्रम अगाडि बढाइने जानकारी गराइन्छ ।’
कर्मचारीको विरोधका कारण बुधबार पोखरा महानगर अन्तर्गतका सबै ठाउँमा काम ठप्प पारिएको छ ।
सम्बन्धित खबर
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार
पोखरा बहुमुखी क्याम्पस ‘क्युएए’ सर्टिफाइड
काली बाबाको उपस्थितिमा कोटिहोममा यज्ञको पूर्णाहुति, पोखराको २ रोपनी जग्गा दान
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
बेगनासतालमा पौडिँदा बेपत्ता भएका गोरखाका श्रेष्ठको शव निकालियो
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग