युवा संघ पर्वतको भेलामा दुई गुटबीच कुटाकुट, एमाले गण्डकी सदस्य पौडेल अस्पताल भर्ना

झडप

युवा संघ पर्वतको भेलामा दुई गुटबीच कुटाकुट, एमाले गण्डकी सदस्य पौडेल अस्पताल भर्ना

७ टाँका लगाइयो

arjun-nirjan-poudel

पर्वत । युवा संघ पर्वतको भेलामा दुई गुटबीच विवादपछि कुटाकुट भएको छ। जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि अस्पताल नै भर्ना गर्नुपर्ने गरी कुटाकुट भएको हो ।

झडपमा परी एमाले प्रदेश समिति सदस्य एवम् युवा संघका पूर्व नेता अर्जुन निर्जन पौडेलसहितका नेता घाइते भएका छन्। पौडेलको टाउकोमा ७ टाँका लगाइएको छ । अन्यमाथि पनि सामान्य हातपात भएको छ ।

युवा संघ पर्वतको नवौँ जिल्ला अधिवेशनको मिति बुधबारलाई तोकिएको थियो । एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा समूह रोक्ने पक्षमा थियो भने एउटा समूह जसरी पनि गर्ने अडानमा थियो। घाइते भएका पूर्व केन्द्रीय सदस्य पौडेल, युवा संघ पर्वतका जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकाली रोक्नुपर्छ भन्ने पक्षमा थिए। उनीहरूले वैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गरेका थिए ।

पौडेल पक्षले पार्टी पदाधिकारीमाथि हातपात गर्न थालेपछि झडपको स्थिति भएको इतर पक्षको दाबी छ। एमाले पर्वतका अध्यक्ष गोविन्द गिरीले आफूमाथि आक्रमण हुँदा असमझदारी उत्पन्न भएको दाबी गरे।

राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो ।

केन्द्रीय सचिव एवम् प्रदेश इञ्चार्ज पर्वत भण्डारीले अधिवेशन नभइ विस्तारित भेला भएको बताए। ‘अधिवेशन होइन, विस्तारित भेला हो। केही साथीहरुको सामान्य असमझदारी सिर्जना भएपछि आयोजक कमिटि बनाऔं भनेर भेला बेलाएका हौं,’ उनले भने, ‘केही भएको छैन। साथीहरुको सामान्य असमझदारी भएको हो।’

चैत १५ भित्र अधिवेशन गर्न नसकेको शाखाहरुमा जिल्ला अध्यक्ष स्वतः संयोजक हुने र अधिवेशन गर्ने गरी केन्द्रबाटै निर्णय भएको भण्डारीले दाबी गरेका छन्।

आयोजक कमिटी बनाउने योजनासहित कार्यक्रम भइरहेको भए पनि युवा संघ जिल्ला अध्यक्ष विनोद थापाले बहिस्कार नै गरेका छन्। तर, भण्डारीले भने जिल्ला अध्यक्ष थापा सम्पर्कमा नै नरहेको बताउँछन् ।

एउटा समूहको विरोधकाबीच कार्यक्रम भने अहिले भइरहेको एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिए। गिरीले भने, ‘अहिले कार्यक्रम भइरहेको छ, सामान्य विवाद भएको हो ।’

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ पर्वतमा एमालेका दुई गुट छन् । एउटा समूहलाई राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेश तिमिल्सिनासहित पूर्व प्रदेश सांसद विकास लम्सालसहितले चलाउँछन्। अर्को समूहलाई एमाले संस्थापन र प्रतिनिधिसभा सदस्य पदम गिरीको समर्थन छ। यी दुई समूहको विवाद हात हालाहालको अवस्थामा पुगेको हो ।

तर, वर्तमान कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले वैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गरेका थिए। अध्यक्ष थापा र सचिव थकालीले जेठ ९ देखि ११ गतेसम्म प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेलगायतका कामहरू नसकिएकाले केही समय सार्नुपर्ने बताएका थिए । अध्यक्ष र सचिवले आगामी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पार्टीले जबरजस्ती २४ गते अधिवेशन गरे त्यसको प्रतिवाद गर्ने बताएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ