नवौं पोखरा स्पोर्ट्स अवार्डमा भलिबलका अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा सभागृहमा आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ मा पुरुषतर्फ विश्वास र महिलातर्फ अरुणा सर्वोत्कृष्ट खेलाडी घोषित भए।
भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाहीले आईटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङलाई उछिन्दै सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारिन्। अरुणाको यो तेस्रो पोखरा स्पोर्ट्स अवार्ड हो।
यस्तै, गण्डकी प्रदेशको नवलपुरका विश्वासले मनोनयनमा परेका टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठलाई पछाडि पार्दै सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते। सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी विश्वास र अरुणाले ट्रफीसहित टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर प्राप्त गरे।
उदीयमान खेलाडीको अवार्ड क्रिकेटकी रचना चौधरीले जितिन्। उनले भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्कीलाई पछाडि पारिन्। सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका राजेन्द्र तामाङले जिते। उनले टेनिसका निरज थापा र भलिबलका रमेश केसीलाई उछिने।
सर्वोत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्यो भने उत्कृष्ट खेल पत्रकारिता अवार्ड आदर्श समाज दैनिक पोखराका कार्यकारी सम्पादक विजय नेपालले प्राप्त गरे ।
उदीयमान खेलाडी, प्रशिक्षक र खेल संस्थाले ३५-३५ हजार नगदसहित ट्रफी प्राप्त गरे। कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायतले अवार्ड वितरण गरे।
भगवतीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ मा ओलम्पियन सुटर भगवती खत्री केसीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। बागलुङकी भगवतीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक जितेकी छन्।
नवौं र १२औं राष्ट्रिय सुटिङ प्रतियोगिता, प्रथम खुला सुटिङ, चौथो र पाँचौं राष्ट्रिय खेलकुदमा उनले उत्कृष्ट प्रदर्शन गरिन्। सिड्नीको २७औं ओलम्पिक, सात एसियन गेम्स, साफ च्याम्पियनसिप र अन्य अन्तर्राष्ट्रिय सुटिङ प्रतियोगितामा सहभागी भगवतीले राष्ट्रिय कीर्तिमान राखेकी छन्। उनले गोरखा दक्षिण बाहु मानपदवी र २०६३ मा उत्कृष्ट खेलाडीको सम्मान पाइसकेकी छन्। २०५१ देखि गण्डकी प्रदेशमा सुटिङ प्रशिक्षकको रूपमा निःशुल्क प्रशिक्षण दिँदै आएकी छन्।
यसअघि मञ्चले कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मान गरेको थियो।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला