काठमाडौं। होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–५ बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भई हाल काठमाडौं–५ बस्दै आएकी ३४ वर्षीया आचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेका छन्।
दुबैलाई काठमाडौं महानगरपालिका–११ हनुमानस्थानबाट जेठ ७ गते पक्राउ गरिएको आचार्यले बताए। आचार्यका अनुसार उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउँथे। सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउँथे।
अनि विस्तारै सम्बन्ध प्रगाढ बनाउँदै जान्थे। सम्बन्ध बलियो बनाएपछि होटल वा रिसोर्टमा भेट्न बोलाउँथे। त्यस्ता भेटघाटहरू विशेष रूपमा नियोजित हुने गरेका थिए। उनीहरूले होटलमा खाजा, खाना र मदिरासहितको सेवा दिँदै गोप्य रूपमा पीडितको फोटो र भिडियो खिच्थे।
अधिकांश अवस्थामा ती दृश्यहरू आपत्तिजनक हुने गरी खिचिएका हुन्थे। ‘यिनै सामग्रीहरूलाई आधार बनाएर उनीहरूले पीडितमाथि मानसिक दबाब दिन्थे,’ आचार्यले भने, ‘तपाईंको घरपरिवार, कार्यक्षेत्र र सामाजिक सञ्जालमा यिनै तस्बिर सार्वजनिक गरिदिन्छौं भन्दै धम्क्याइन्थ्यो।’ त्यस्ता धम्कीबाट डराएका धेरै व्यक्तिहरू आफैं सम्पर्कमा आएर रकम बुझाउने अवस्थामा पुग्ने गरेको प्रहरीले जनाएको छ।
काठमाडौंमा भएको पछिल्लो घटनामा ती युवतीले एक व्यक्तिलाई ब्ल्याकमेल गरेर काठमाडौंमा चार आना जग्गा माग गरेका थिए। पाँच लाख रुपैयाँ बराबरको चेक लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई वटा मोबाइल फोन बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाणहरू संकलन भइरहेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न दुवै युवतीले पछिल्लो समय सामाजिक सञ्जालमा सक्रियता बढाएका थिए। उनीहरूले फेसबुकमार्फत् रोजगारी वा सम्बन्धको झुठो प्रस्ताव गरेर लक्षित व्यक्तिहरूसँग सम्पर्क बनाउँथे। अनि व्यक्तिगत भेटघाटमा पुगेर उनीहरूलाई फसाउने योजनामा संलग्न हुन्थे।
प्रहरीले यो घटनालाई ‘हनी ट्रयाप’ अर्थात् भावनात्मक सम्बन्धको जालमा पारेर गरिने ठगीको आधुनिक स्वरूपको रूपमा व्याख्या गरेको छ। काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र डिजिटल मिडिया प्रयोग गरेर ठगी गर्ने घटनाहरू बढ्दो क्रममा छन्।
आचार्यका अनुसार हालसम्म यो गिरोहले कति जनालाई निशाना बनाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनले भने, ‘गोप्य फोटो र भिडियो खिचेर ब्ल्याकमेल गर्ने प्रवृत्ति खतरनाक रूपमा विस्तार भएको छ। यस्तो प्रवृत्तिबाट जोगिन सबै नागरिक सचेत हुनु आवश्यक छ।’ पक्राउ परेका युवतीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा