पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा सभागृहमा राख्नुपर्ने बैठक इभेण्ट सेन्टरमा आह्वान गरेको भन्दै शनिबार काँग्रेसका नगरसभा सदस्यहरूले बहिष्कार गरे । यसकै कारण बैठक विवादित बन्न पुग्यो ।
गएको असार १० गते हतार हतार लटरपटर बजेट पेश गरेर चीनको ल्हासा पुगेर फर्किएका मेयर आचार्यले इभेन्ट सेन्टरमा अन्तर्क्रियात्मक कार्यक्रम भन्दै शनिबार बिहानै एसएमएस गरी निमन्त्रणा गरेका थिए
जनप्रतिनिधिलाई बोलाइएको सूचनामा उल्लेख छ ‘श्री नगर सभा सदस्यज्यूहरू, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सभासदहरूबीच अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिएको हुनाले शनिबार दिनको २:३० बजे पोखरा इभेन्ट सेन्टरमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।’

यो इभेन्ट सेन्टर मेयरका सहोदर भाइ शिवराज आचार्यको हो । पोखरा महानगरका कार्यक्रम भाइले सञ्चालन गरेको इभेन्ट सेन्टरमा राख्ने गरिएको भन्दै आलोचना हुने गरेको छ ।
पछिल्लो एक वर्षदेखि महानगरपालिका, मातहतका महाशाखा, कार्यालय, महनगरपालिकाले सहयोग गरेका कार्यक्रम इभेन्ट सेन्टरमा हुने गरेका छन् । शनिबार नै पोखरा महानगरपालिका नगर युवा परिषद्को अवार्ड वितरण कार्यक्रम इभेन्ट सेन्टरमै गरिएको छ ।
कांग्रेसका जनप्रतिनिधिले मेयरको आफ्नै परिवारिक स्वामित्वको इभेन्ट सेन्टरमा कार्यक्रम राखेको र यश सम्बन्धी पूर्व छलफल नगरिएको भन्दै असहमति जनाएका छन् ।
महानगरका प्रवक्ता भएकाले मोति तिमिल्सिना मात्र बैठकमा रहे । दुई जना आएपनि निस्केका थिए । कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्गले पनि बैठक बहिष्कार गरे । एमालेका जनप्रतिनिधि भने मेयरले बोलाएको बैठकमा अधिकांश उपस्थित भए ।
कांग्रेसका जनप्रतिनिधिले भने मेयरले नगर सभा अन्तर्गतको बैठक नै इभेन्ट सेन्टरमा बोलाएको भन्दै आपत्ति जनाएपछि मेयर आचार्यले अनौपचारिक छलफलमात्रै गरिने र त्यसको कुनै औपचारिक एजेण्डा पनि नहुने भन्दै स्पष्टीकरण दिएका थिए ।
काँग्रेसका चार वडा सदस्यले सम्पूर्ण सदस्यहरूको तर्फबाट भन्दै बैठक बहिस्कार गरेको सार्वजनिक गरेका थिए । भाइको स्वामित्वमा रहेको इभेन्ट सेन्टरमा अन्तर्क्रिया राखेपछि उनीहरू सार्वजनिक रूपमै विरोधमा उत्रेका हुन् । नगरसभा सदस्य पोखरा-४ का प्रकाश कोइराला, पोखरा-१० का पूर्णचन्द्र न्यौपाने, पोखरा-११ का सुशील बास्तोला र पोखरा-३३ का प्रकाश कार्कीले उक्त अन्तर्क्रिया बहिष्कार गरेका हुन् । फेसबुकमार्फत उनीहरुले ३ बुँदे असहमति व्यक्त गर्दै उक्त अन्तर्क्रिया बहिष्कार गरेका थिए ।
पोखरा महानगरपालिकाको कार्यालय र नगरसभा हल बाहिर निजी स्थलमा नगर सभा प्रकृतिका कार्यक्रम आयोजना गरिनु गम्भीर प्रक्रियागत त्रुटि भएको, कारण नखुलाई निमन्त्रणा गरेर निर्णय प्रक्रियामा सीमित भूमिका दिनु अलोकतान्त्रिक अभ्यास भएको र नगरसभासम्बन्धी कुनै पनि बैठक, छलफल, अन्तर्क्रिया वा निर्णय प्रक्रिया नगरसभा हल वा महानगरको आधिकारिक स्थलमै गर्नुपर्ने उनीहरुको माग छ ।
यस्ता कार्यक्रम अगाडि बढाउनुअघि नगरसभा सदस्यहरूसँग पूर्वसहमति र परामश हुनुपर्ने माग सदस्यहरूले राखेका छन् ।
मेयर आचार्यले महानगर र व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी) को सभा हलमा सबै जना नअट्ने भएकाले बाहिर अन्तर्किया राखिएको बताए । नगरसभा सदस्य पूर्ण न्यौपानेले फेसबुकमा राखेको स्टाटसमा प्रतिक्रिया दिँदै उनले सभागृहमा नभई सबै सदस्य एक-अर्कासँग राउण्डमा बसेर स्वतन्त्र रूपमा छलफल गराउने उद्देश्यले बाहिर अन्तर्क्रिया राखिएको बताए ।
‘यो कार्यक्रम कुनै सरकारी खर्चमा आयोजना गरिएको होइन, उपश्थिति अनिवार्य छैन,’ मेयर आचार्यको जवाफ छ, ‘तपाईंहरूले छलफल को समय मागेको हुँदा छुट्ट्याएको हो । उपश्थिति अनिवार्य छैन, यो नगरसभाको अंश होइन ।’
नगरसभा सदस्यज्यूहरू, मेयर, उपमेयर तथा प्रमुख प्रशासनिक अधिकृतबीच अनौपचारिक छलफलका लागि बैठक राखिएको र कार्यक्रममा कुनै ब्यानर नरहेको मेयरको भनाइ छ ।
‘तपाईंहरूले नगरसभाको औपचारिक सत्रअघि राख्न चाहनुभएको जिज्ञासा तथा सुझावहरूलाई ध्यानमा राख्दै यो छलफलको आयोजना गरिएको हो । यस बैठकका लागि निश्चित एजेन्डा छैन—तपाईंहरूको जिज्ञासा र सुझाव नै छलफलका विषयवस्तु हुनेछन्,’ मेयर आचार्यले लेखेका छन्, ‘सभागृहमा नभई, सबै सदस्यहरू एक अर्कासँग राउण्डमा बसेर स्वतन्त्र रूपमा छलफल गर्न सकियोस् भन्ने उद्देश्यले (बिना मञ्च) यो छलफल तय गरिएको हो ।’
महानगर सभाहल वा अर्को सानो हलमा नअटाउने भएकाले खुला र उपयुक्त ठाउँ भएकाले इभेन्ट सेन्टरमा बोलाइएको मेयर आचार्यको जवाफ छ ।
मेयरको विदेश शयरले बजेटमाथिको छलफल सुरु भएको छैन । मेयर आचार्यले असार १० गते नीति तथा कार्यक्रम र सोही दिन उपमेयर मञ्जुदेवी गुरुङले बजेट पेश गरेकी थिइन् । बजेटमाथि छलफल गर्न १६ गते सोमबारका लागि नगर सभा बोलाइएको छ ।
सम्बन्धित खबर
आत्मनिर्भर देशका लागि युवालाई अवसर जरूरीः पौडेल
आन्तरिक श्रोतबाट उपलब्ध सुविधामा अंकुश लगाइएपछि प्राध्यापकहरू आन्दोलित
पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा
शान्ति निकेतनमा बधाई तथा सम्मान, ४ जीपीए ल्याउने अनुपम र निश्चललाई जनही १ लाख
सफल निरमाया दोहोरी साँझको वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई सहयोग
पोखराका मेयरलाई राजीनामा दिन सुझाव, जनता भन्छन् – ‘माखो मार्नुभएन, जिरो पर्सेन्ट काम, वडाध्यक्ष जति पनि छैन’
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा