पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान

पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान

'कृषकलाई गरिने सम्मान सबैका लागि अनुकरणीय' : मञ्जु देवी गुरुङ

Thumb

पोखरा महानगरपालिका वडा नं -१५ को आयोजना तथा कृषि सञ्जाल पोखराको समन्वयमा तेस्रो रोपाइँ महोत्सव अर्थात् धान दिवस मनाइएको छ।
वडा कार्यालय – १५ अगाडि झन्डै ४ रोपनी क्षेत्रफलमा धूमधामका साथ रोपाइँ महोत्सव मनाइएको हो।  महोत्सवमा वडा नं -१५ का स्थानीय, विभिन्न आमा समूह, टोल विकास संस्था लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेकी पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले असारको महिना मानो रोपेर मुरी उब्जाउने महिना रहेको भन्दै वडा नं -१५ ले कृषि कर्ममा लागेका कृषकहरूलाई यही दिनको अवसरमा सम्मान गर्दै आएको बताइन्। उनले कृषकहरू प्रति १५ नं वडाले गर्दै आएको सम्मान अन्यका लागि पनि अनुकरणीय रहेको र यही नै कृषकप्रति सही सम्मान भएको बताइन्।

वडाध्यक्ष तोरण बानियाँले किसानले अन्न उत्पादन गर्ने भन्दै हामीलाई बचाउने पनि किसान भएका कारण उनीहरूको सम्मान गर्नुपर्ने बताए।

यस्तै, वडा सदस्य तथा कार्यक्रम संयोजक आशिष भण्डारीले विगतका वर्षहरूमा वडावासीले देखाएको साथ, सहयोग र हौसलाका कारण यस वर्ष पनि तेस्रो रोपाइँ महोत्सवलाई निरन्तरता दिइएको बताए। उनले रोपाइँ महोत्सवमा गरिने प्रतियोगिता प्रतिस्पर्धाका लागि नभई केवल मनोरञ्जनका लागि भएको कारण सोही अनुरूप बुझिदिन सहभागीलाई आग्रह गरे।

वडा कार्यालयबाट सुरु भएको नौमती बाजा र हल गोरु सहितको र्‍याली राधे-राधे मन्दिरको परिक्रमा गरी महोत्सव स्थल पुगेको थियो। महोत्सवमा पुरुष रस्साकस्सी, महिला दौड, माछा समात्ने तथा धान रोप्ने प्रतियोगिता सञ्चालन गरिएकोमा विजयीलाई नगद पुरस्कारले सम्मान गरिएको थियो।

यस्तै, कार्यक्रममा १५ नं वडामा रही कृषि फार्म सञ्चालन गर्दै आएका अभिषेक अनिता मल्टी एग्रो फार्म, मिमिक एग्रो फार्म, राधा बाख्रा फार्म र जय विजय कृषि फार्म गरी चार वटा कृषि फार्मलाई नगद पुरस्कारले सम्मान गरिएको थियो।

महोत्सवमा गायिका माया गुरुङ, सीता केसी, ठाडो भाका गायक धम्पु दुरा लगायतका कलाकारको प्रस्तुतिमा दर्शक तथा सहभागीले कम्मर मर्काएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds