लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘‘सत्यम्’’ स्याङ्जाको वालिङ, मिर्दीमा एक समारोहबीच विमोचन गरिएको छ । मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा सम्पन्न कार्यक्रममा साहित्यिक विमर्शसमेत गरिएको थियो ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व कृषि मन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा, समीक्षक शान्ता थापा र शम्भु अर्याल तथा लेखक वियोगीले संयुक्तरूपमा कृतिको विमोचन गरेका थिए । कार्यक्रमको सहजीकरण कवि मिलन समिरले गरेका थिए ।
पूर्वमन्त्री ढकालले साहित्य कल्पना र यथार्थताको संयोजन भएको उल्लेख गर्दै वियोगीका कथामा माओवादी द्वन्द्वको परिवेशलाई सशक्त रूपमा चित्रण गरिएको बताए । “वियोगीका कथामा २०५२ देखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको प्रभाव स्पष्ट देखिन्छ,” उनले भने ।
समालोचक डा. थापाले पत्रकारिता पेसामा रहेका वियोगीले समाचार वा फिचरमा लेख्न नसकेका विषयहरू कथामार्फत व्यक्त गरेको बताए । उनले भने, “असत्यले सत्यलाई छायामा पारेको समाजको वर्गीय पीडा र यथार्थलाई सत्यम्(ले) उजागर गरेको छ । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असर पनि कथाहरूमा उठाइएको छ ।”
समीक्षक शान्ता थापाले सत्यम् स्याङ्जाको मौलिक संस्कृति समेटिएको कृति भएको बताइन् । उनले कृति पढ्दा आफू भावुक भएको अनुभव समेत सुनाइन् । कथाकार वियोगीले कृति रचनाको पृष्ठभूमिबारे बोल्दै भने, “म कथाकार वा लेखक बन्नुहुन्छ कि हुँदैन भन्ने कुरा थाहा छैन, तर धेरैको सहयोगले नै मलाई यहाँसम्म ल्यायो । मैले सत्यम्(लाई) होइन, सत्यम्(ले) मलाई चिनाइदिए पुग्छ ।”
अर्का समीक्षक तथा निबन्धकार अर्यालले समाज र परिवेशका अति सूक्ष्म विषयलाई कृतिले उधिनेर निकालेको बताए । उनले कथामा स्याङ्जाली भूगोलको मौलिकता अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको पनि बताए । तथ्यपरक विषय गणित पढेको, तथ्यमै आधारित पेशा पत्रकारिता अँगालेका वियोगीले साहित्य लेख्नु आफैँमा रोचक भएको समीक्षक अर्यालले बताए ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले वियोगीले कथामार्फत आफ्नो जन्मभूमिको मौलिकतालाई थप उजागर गरेको बताए ।
वियोगीको यो पहिलो कथासङ्ग्रह हो । समीक्षात्मक धारमा छलफल भइरहँदा सहभागी वक्ताहरूले वियोगीले पश्चिम नेपाल, विशेषतः स्याङ्जाको स्थानीय भाषा, संस्कृति र माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित समाजका विविध पाटाहरूलाई कथामार्फत उत्खनन गरेको उल्लेख गरे । कथामा सामाजिक विभेद, असमानता, जनयुद्धका त्रासदीसँगै लोकभाका र लोकसंस्कृतिको सुगन्ध समेत पाइने कुरा चर्चा भएको थियो ।
‘‘सत्यम्’’ विमोचनसँगै भएको बृहत् सिर्जना वाचन कार्यक्रममा २५ जना कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय वियोगी नेपाल समाचारपत्र, नागरिक दैनिकलगायतका सञ्चारमाध्यमहरूमा कार्यरत रहिसकेका छन् । हाल उनी ऊर्जासम्बन्धी अनलाइन र अर्धवार्षिक पत्रिका ‘‘ऊर्जा खबर’’ का सम्पादक छन् । कथा र निबन्ध विधामा सक्रिय वियोगीका गीतहरू पनि आधुनिक तथा लोक-आधुनिक शैलीमा रेकर्ड भइसकेका छन् ।
उनको निबन्ध ‘‘कोरोनाको कर्खा’’ले कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ मा प्रथम स्थान हासिल गरेको थियो भने ‘‘टाउको’’ शीर्षकको कथा डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता को पहिलो संस्करणमा दोस्रो भएको थियो, जुन कथा पनि यस सङ्ग्रहमा समावेश छ ।
पेज टर्नर प्रा.लि.बाट प्रकाशित उक्त कथासङ्ग्रहमा १५ कथा सङ्ग्रहित छन् र कृतिको मूल्य चार सय ५५ रुपैयाँ राखिएको छ ।
सम्बन्धित खबर
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित
कोदो फल्ने बारीमा सयपत्री
स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !