पोखरामा मनी चेन्जर र रेष्टरेण्ट व्यवसाय चलाइरहेका तीन जना व्यवसायी अमेरिकी डलर र युरो अवैध कारोबार आरोपमा शनिबार पक्राउ परेका छन् ।
उनीहरूका साथबाट प्रहरीले १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० युरो र ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली मुद्रा पनि बरामद गरेको छ ।
पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ चियादोकान घर भई हाल लेकसाइडमा हिलारी मनी चेन्जर कम्पनी चलाएका ४५ वर्षीय राजकुमार बुढाथोकी, पोखरा–१९ पुरनचौर घर भई लेकसाइडमा सगरमाथा मनी चेन्जर चलाएका ४३ वर्षीय खेमराज पौडेल र रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ हाटबजार घर भई रूपन्देही र पोखरामा रेष्टुरेण्ट चलाएका ४५ वर्षीय महुमुद्धिन एम अहमद रहेका छन्।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार मनी चेन्जर सञ्चालकद्वय राजकुमार र खेमराजले रेष्टुरेण्ट सञ्चालक महुमुद्धिनलाई कमिसन लिएर अमेरिकी डलर र युरो बिक्री गरिरहेका थिए।
राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जर कम्पनीले मुद्रा सटही गर्दा प्राप्त विदेशी मुद्रा बैंकिङ कारोबारमार्फत जम्मा गर्नुपर्ने भए पनि अर्को व्यक्तिलाई बिक्री गरिरहेको भेटिएको एसपी ओलियाले बताए ।
‘राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जरले आफ्नै खातामा लगेर विदेशी मुद्रा जम्मा गर्नुपर्छ,’ उनले भने, ‘गैरकानूनी रूपमा अर्को व्यक्तिलाई बिक्री गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं।’
पोखराको विरौटामा अवैध कारोबार भएको सूचना पाएपछि उनीहरूका साथबाट अमेरिकी डलर, युरो र नेपाली रूपैयाँ प्रहरीले बरामद गरेको हो।
विदेशी मुद्रा यसरी अवैध कारोबार गर्दा कति कमिसन लिए र महुमुद्धिनले कहाँ लैजान खोजेका थिए भन्नेबारे खुल्न बाँकी रहेको एसपी ओलियाले बताए।
उनीहरूलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर प्रहरीले अनुसन्धानका लागि ७ म्याद थपेको छ।
राष्ट्र बैंक ऐन २०५८ विरूद्ध विदेशी मुद्रा कारोबार गरेकाले सोही ऐन अनुसार अनुसन्धान गरेर कारबाही अघि बढाउने एसपी ओलियाले बताए।
सम्बन्धित खबर
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस