पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा कर्णालीको चर्चा चलाएको छ। माधव चौलागाईंको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरु जुटेका थिए।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए पनि बहसका सवालमा दरिलो भएको धारणा राखिन्।

‘भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको जनआकर्षण बढ्दो छ,’ पोखरेलले भनिन्, ‘विशेष गरी पहाडे खसभाषीहरुको भाषिक र सांस्कृतिक जरोकिलो जोडिएको खस सभ्यताको मुहान सिंजा उपत्यका रहेको कर्णाली क्षेत्र हरेक नेपालीका लागि पितृभूमि र सांस्कृतिक अवचेतनको आधारशीला हो।’
बुद्धिजीवी र लेखकहरुको नयाँ पुस्ताले कर्णालीलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउने कार्यमा आफ्नो सिर्जनशीलता अर्पण गरिरहेको उनको भनाइ थियो। जुम्लामा जन्मेका लेखक माधव चौलागाईंको ‘सपादलक्ष कर्णाली’ लाई इतिहास, स्मृति र सम्भावनाको सशक्त दस्तावेजका रुपमा पोखरेलले चित्रण गरिन्।
तीन खण्डमा विभाजित कृतिलाई उनले ‘अर्गानिक स्वाद’ को कृतिका रुपमा व्याख्या गरिन्। कर्णालीप्रति चासो राख्ने पाठकहरुका लागि यो उपयुक्त कृतिका रुपमा सिफारिस गर्दै उनले यो कृति आम जनता, नेता र राज्यलाई समाजप्रति उत्तरदायी बनाउने दस्तावेज भएको विचार राखिन्।

लेखक माधव चौलागाईंले हरेक क्षेत्रको दुर्गम ठाउँलाई ‘कर्णाली’ भनिदिने चलनप्रति विमति राख्दै कर्णालीको विम्ब फेरिनुपर्ने जिकिर गरे। उनले कर्णाली सम्भावनाहरुको खानी भएको धारणा राखे। कर्णाली भनेको साविकको कर्णाली अञ्चल वा अहिलेको कर्णाली प्रदेश मात्र नभई समग्र कर्णाली सभ्यता भएको बताए।
वर्तमान संघीय संरचनामा पनि कर्णालीका नाममा विनियोजित बजेटको दुई तिहाइ हिस्सा कुनै निश्चित जिल्लामा मात्र सीमित हुनु संघीयताको मर्मविपरीत हुने तर्क राख्दै त्यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए। कर्णालीका संस्कृति, भूगोल र भाषासम्बन्धी आफ्ना विचारहरु राख्ने क्रममा कृति जन्मिएको उनको भनाइ थियो।
कार्यक्रममा साहित्यकार सरुभक्तले आफू कर्णाली जाँदाको अनुभव सुनाउँदै कर्णाली हिजो जस्तो आज नभएको र आजभन्दा भोलिका दिनमा थप विकसित हुँदै जाने अपेक्षा राखे। उनले कर्णालीका विषयमा लेखिएका कृतिहरुको लामो फेहरिस्त तयार पार्न सकिने भए पनि लेख्न सकिने विषय प्रशस्त भएको बताए। ‘सापदलक्ष कर्णाली’ ले कर्णालीबारे महत्वपूर्ण जानकारी दिने प्रतिक्रियासमेत दिए।
मेघनाथ कुँवर, सुरेश रानाभाट, विद्याविमल बराल, डिल्लीप्रसाद ढुंगाना, रेशम गिरी, रोशन तलिगोठ्याल, खिम लामिछाने, डाक्टर रामचन्द्र बराल, भानुभक्त पोखरेललगायतले टिप्पणी गरेका कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए। सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयमाथि बौद्धिक बहस गर्दै आएको छ।


सम्बन्धित खबर
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
कविता: मृत्युवरण
‘रात्री आकाश’ गजल कृति सार्वजनिक
औपन्यासिक कृति ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
कविताः पासाङ दिकी
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प