काठमाडौँ — नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । ओमानसँग ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी–२० विश्वकपको टिकट काटिसकेका थिए ।
ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको बुधबारको दुवै खेलमा आफू अनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी–२० विश्वकपका लागि छनोट भएका हुन् ।
कतारले जापानलाई ३ विकेटले र यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रोपटक विश्वकपमा पुगेका हुन् । २०२३ मा काठमाडौंमा भएको एसिया छनोटको शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान विश्वकपमा पुगेका थिए ।
नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको हो । सन् २०१४ मा बंगलादेशबाट नेपालले ट्वान्टी–२० विश्वकपको ढोका खोलेको थियो । १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेको थियो । ट्वान्टी–२० विश्वकप २००७ देखि सुरु भएको हो । नेपालले २००७ देखि नै यसको छनोट खेल्दै आएको छ ।
फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपको १० औं संस्करण आयोजना हुँदै छ । नेपाल र ओमान आउँदो संस्करणका लागि छनोट हुने क्रमशः १८ र १९ औं राष्ट्र हो । भारत र श्रीलंका आयोजक राष्ट्र भएका कारण ट्वान्टी–२० विश्वकपमा सोझै छनोट भएका हुन् ।
गत वर्षको ट्वान्टी–२० विश्वकपबाट अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिजले तथा आईसीसी वरीयताबाट आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तानले भारत र श्रीलंकामा हुने ग्लोबल इभेन्टमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।
क्षेत्रीय छनोटमा अमेरिकी क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्यान्ड्स र इटाली तथा अफ्रिकाबाट जिम्बावे र नामिबिया ट्वान्टी–२० विश्वकपमा पुगेका थिए । ओमानमा भइरहेको प्रतियोगिताले ट्वान्टी–२० विश्वकपमा पुग्ने थप एक टोलीको निर्क्यौल गर्नेछ । त्यसमा यूएई, सामोआ, कतार र जापानको सम्भावना रहेको छ ।
नेपालले अब शुक्रबार सामोआसँग सुपर सिक्सको अन्तिम खेल खेल्नेछ । नेपालले बुधबारको खेलमा घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ । अब सामोआलाई पराजित गरेमा नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्ने छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प