स्याङ्जाको पुतलीबजार नगरपालिका –९ कोल्मा बराहचौरमा आगामी पौष ८ गते राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड” नाराका साथ सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले विगतका वर्षझै यस वर्ष पनि प्रतियोगिताको छैटौँ संस्करण आयोजना गर्न लागेको हो ।
गाउँबाट बाहिरिएका पीढीलाई जन्मभूमिसँग पुनः जोड्ने उद्देश्यसहित स्थापना भएको सम्पर्क मञ्चले खेलकुद र पर्यटनमार्फत ग्रामीण क्षेत्रको आर्थिक प्रवद्र्धन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष सुबेदार मेजर दुत प्रसाद गुरुङले बताए । स्थानीय लोकसंस्कृतिको संरक्षण, होमस्टे प्रवद्र्धन तथा गाउँ विकासमा नागरिक सहभागिता बढाउने उद्देश्यले दौडसँगै सांस्कृतिक प्रस्तुति र होमस्टे साँझ समेत आयोजना गरिने गुरुङले बताए ।
ग्रामीण भेगमै राष्ट्रिय प्रतियोगिता गर्न सकिने सन्देश दिन आयोजनालाई ठूलो महत्व दिइएको मञ्चका महासचिव जीवन पोखरेलले बताए । “गाउँमै ठूलो खेल आयोजना हुन सक्छ भन्ने सन्देश दिन चाहेका हौं,” पोखरेलले बताए, “यसले खेलकुद केन्द्र निर्माणदेखि पर्यटन सक्रियता बढाउन सहयोग गर्छ ।”
प्रतियोगितामा खुल्ला पुरुष तथा महिला २५ किलोमिटर, खुल्ला महिला १० किलोमिटर, २१ वर्षमुनी पुरुष १० किलोमिटर, विद्यार्थी छात्र–छात्रा ५ किलोमिटर तथा ३० वर्षमाथिका महिलाहरु सहभागी हुने ‘रन फर फन’ लुङ्गी ड्रेस दौड गरी ६ विधामा प्रतिस्पर्धा हुने मञ्चका संस्थापक अध्यक्ष जितबहादुर गुरुङले बताए ।
२५ किलोमिटर दौड कोल्मा बराहचौरबाट सुरु भई काहुले–डाँडास्वारा–नाम्चे–काल्खु–खल्लुवोट–बिसाउना–खुदी–मङ्किना हुँदै पुनः कोल्मा बराहचौरमै फर्किनेछ। ।
अन्य विधाका दौडहरू पनि स्थानीय भू–बनोटअनुसार मार्ग तोकिएका छन् । जसमा १० किमि दौड पनि बराहचौरबाट सुरु भई सतीडाँडा, काहुले, ज्यामीरे, चिरुवा, भैंसेगौंडा, राङ्भाङ मैदान हुँदै बराहचौरमै समाप्त हुनेछ भने ५ किमि रुट बराहचौरबाट पोखरीछाप, थुम्कीडाँडा, बाँस्पानी, रामचौतारा हुँदै बराहचौरमा फर्किने तय गरिएको छ ।
पुरस्कार राशिमा यस वर्ष पनि आकर्षक रकम तोकिएको छ । खुल्ला २५ किलोमिटर विजेताले ५० हजार रुपैयाँ, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार प्राप्त गर्नेछन् । १० किमि महिला तथा २१ वर्षमुनि पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रोलाई २०, १५ र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
५ किमि विद्यार्थी समूहमा छात्र–छात्रा दुवै विधामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ८, ५ र ३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । रन फर फनमा भने शीर्ष तीन जनाले पाँच, तीन र दुई हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सबै विधाका शीर्ष १० खेलाडीलाई पनि नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । साथै २५ किमि खुलातर्फ स्थानीय सातसय कोल्मा बहाकोट क्षेत्रका एक खेलाडीलाई प्रोत्साहन स्वरुप छुट्टै ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडलले सम्मान गरिनेछ ।
कार्यक्रम सञ्चालनमा कोल्मा बहाकोट समाज युके, आमा समूह, गण्डकी प्रदेश खेलकुद परिषद, पुतलीबजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका, स्थानीय वडा कार्यालय, विभिन्न क्लब, संघसंस्था तथा सुरक्षा निकायको सहयोग रहनेछ ।
प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता रहने आकांक्षा राखिएको छ । साथै सम्पूर्ण कार्यक्रम सञ्चालनमा करिब १२ लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ