दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच

सडकमै स्वास्थ्य परीक्षण

दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच

एक सय ३० जनाले सेवा लिए

Driver-health-check-syangja

स्याङ्जाको पुतलीबजार नगरपालिका –१ स्थित बसपार्कमा सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । सडक अनुशासन मजबुत बनाउने र दुर्घटना जोखिम कम गर्ने उद्देश्यसँगै गरिएको शिविरमा एक सय ३० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य परीक्षण यातायात सुरक्षाको महत्वपूर्ण आधार भएको बताउँदै प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले स्वस्थ चालक भए मात्र सुरक्षित यात्रा सम्भव हुन्छ, यसलाई निरन्तर कार्यक्रमका रूपमा लैजानुपर्नेमा जोड दिए ।

चालकको स्वास्थ्य कमजोर भयो भने सानो गल्तीले पनि ठूलो जोखिम निम्त्याउन सक्ने बताउँदै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले दुर्घटना न्यूनीकरणका लागि स्वास्थ्य, अनुशासन र जिम्मेवारी समान रूपमा आवश्यक रहेको बताए ।

स्वास्थ्य परीक्षणले चालकको अवस्था बुझ्न मद्दत गरेको बताउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले आवश्यक परामर्श र उपचारतर्फ मार्गदर्शन गरिएको जानकारी दिए । उनले भने, “यस्ता शिविरले व्यवहारमै सुधार ल्याउँछ, हामी निरन्तरता दिन तयार छौं ।”

यस्तै, बढ्दो सवारी दुर्घटना रोकथामका लागि चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण अनिवार्य हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । नियमित स्वास्थ्य परीक्षण र तनाव व्यवस्थापनले दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने उनीहरूको तर्क छ ।

चालक, सहचालक र यात्रु सबैले आफ्नो–आफ्नो जिम्मेवारी पूरा गरे दुर्घटना कम गर्न सकिन्छ । सार्वजनिक सवारी प्रयोग गर्नेले पनि सचेत र जिम्मेवार बन्नुपर्ने उनीहरुको भनाइ थियो । यात्रुसँगको नम्र व्यवहारले दुर्घटना घटाउन मद्दत गर्ने उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तर चलिरहनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

निरन्तर दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सम्पन्न शिविर पुतलीबजार नगरपालिका, प्रदेश अस्पताल पुतलीबजार र स्याङ्जा गण्डकी यातायात प्रालिको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा चालक तथा सह-चालकहरूले सामान्य स्वास्थ्य परीक्षणदेखि रक्तचाप, सुगर, आँखाको अवस्था लगायतका सेवाहरू प्राप्त गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ