पुतलीबजारमा कपडा बैंकको सुरुआत

जिल्लाकै पहिलो कपडा बैंक

पुतलीबजारमा कपडा बैंकको सुरुआत

Kapda-bank-Putalibazar-ko-suruwat

स्याङ्जाको पुतलीबजार नगरपालिकामा सदरमुकाममै पहिलोपटक कपडा बैंक सञ्चालनमा आएको छ । शुक्रबार पुतलीबजार नगरपालिका –१ स्थित ट्याक्सी चोकमा जिल्लाकै पहिलो कपडा बैंकको औपचारिक शुभारम्भ गरिएको हो ।

पुतलीबजार नगरपालिका–३ मा सक्रिय लत्रेपिपल क्लब र नगरपालिकाको साझेदारी तथा समन्वयमा कपडा बैंक सञ्चालनमा ल्याइएको हो । सामाजिक उत्तरदायित्वलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले यो पहल गरिएको लत्रेपिपल क्लबका अध्यक्ष तथा कपडा बैंक कार्यक्रमका संयोजक मनोज मल्लले जानकारी दिए ।

कपडा बैंकको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले लक्षित वर्गका नागरिकलाई आवश्यक कपडा सहज र सम्मानजनक रूपमा उपलब्ध गराउने उद्देश्यसहित यो अभियान सुरु गरिएको बताए । उनले समुदायको सहभागिताले यस्तो सामाजिक कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।

नगर प्रमुख रेग्मीले कपडाको अभाव झेलिरहेका व्यक्तिलाई सहयोग पुग्ने यस किसिमको सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने बताउँदै कसैको घरमा प्रयोगमा नआएका कपडा थुप्रिने र कसैलाई लगाउने कपडासमेत नपुग्ने अवस्था रहेकाले कपडा बैंकले सामाजिक सद्भाव र आपसी सहयोगको भावना बलियो बनाउने बताए ।

सदरमुकाममै स्थापना गरिएको कपडा बैंकले पुतलीबजार नगरपालिकासँगै सिङ्गो जिल्लाका नागरिकलाई सेवा दिनुपर्ने सुझाव पनि नगर प्रमुख रेग्मीले दिए । अन्य स्थानीय तहसँग समन्वय गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उनले कार्यविधि अनुसार कपडा बैंक सञ्चालन गरिने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्ष लेखनाथ शर्मा, समाजसेवी विश्वराज मरासिनी लगायतले कपडा बैंकलाई दीगो रूपमा सञ्चालन गर्न स्थानीय समुदायको सक्रिय सहभागिता, नियमित संकलन, पारदर्शी व्यवस्थापन र स्वयंसेवक परिचालन आवश्यक रहेकोमा जोड दिँदै आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुभारम्भको अवसरमा संयोजक मल्लले घरघरमा प्रयोगमा नआएका तर लगाउन मिल्ने कपडा, झोला, जुत्ता लगायत सामग्री कपडा बैंकमा दान गर्न सकिने बताए । यहाँ संकलित सामग्री आवश्यक पर्ने जो–कोहीले पनि निःशुल्क लिन सक्ने व्यवस्था मिलाइएको छ ।

सुरुमा कपडा बैंक हप्ताको दुई दिन शुक्रबार र शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुला रहनेछ । कपडा बैंक सञ्चालनका लागि पुतलीबजार नगरपालिकाले स्याङ्जा बजारस्थित पुतलीबजार सिटी कम्प्लेक्सका दुई वटा कोठा उपलब्ध गराएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ