स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ की ८० वर्षीया पवित्रादेवी विकले लामो समयपछि संसार देख्न पाएकी छन् । करिब एक दशकदेखि कमजोर हुँदै गएको दृष्टि पाँच वर्षअघि दुवै आँखामा मोतीविन्दु देखिएपछि पूर्ण रूपमा गुमेको थियो । आर्थिक अवस्था कमजोर भएकै कारण पोखरा पुगेर उपचार गर्न नसकेकी विकले गाउँमै निःशुल्क शल्यक्रिया भएपछि पुनः आँखाले साथ दिएको बताइन् ।
पालिकाको आयोजना र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा यहाँको वडा नं. २ मा आयोजित शिविरमा विकको दुवै आँखाको सफल शल्यक्रिया गरिएको हो । पहिले शौचालय जानसमेत परिवारको सहारा चाहिने अवस्था रहेको उल्लेख गर्दै उनले उपचारपछि आफैं हिँडडुल गर्न सक्ने भएको खुशी व्यक्त गरिन् । एक पटक पोखरा पुगेर पनि रकम अभावमा औषधि मात्र लिएर फर्किनुपरेको पीडा उनले सम्झिन् ।
उक्त शिविरबाट वडा नं. ६ का ८१ वर्षीय छविलाल देवकोटाले पनि ठूलो राहत पाएका छन् । यसअघि पोखरा पुगेर दाहिने आँखाको शल्यक्रिया गर्दा ३० हजार रुपैयाँ खर्चिनुपरेको अनुभव सुनाउँदै उनले पालिकामै देब्रे आँखाको निःशुल्क शल्यक्रिया दुई दिनमै सफल भएको बताए । पैसा र समय दुवै जोगिएको भन्दै देवकोटाले गाउँमै सेवा पाउँदा सहज भएको प्रतिक्रिया दिए । शिविरमा ८८ वर्षीय प्रेमबहादुर गुरुङ र ४० वर्षीय सन्तोष गुरुङको पनि मोतीविन्दुको शल्यक्रिया गरिएको थियो ।
पुस ७, ८ र ९ गते वडावडामा सञ्चालन गरिएको आँखा उपचार कार्यक्रममा ५७३ जनाले सेवा लिएका थिए । जसमध्ये ७६ जनामा मोतीविन्दु पहिचान भएको र पुस १५ र १६ गते गरी ६१ जनाको सफल शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित वृद्धवृद्धालाई गाउँमै पुगेर पहिचान गरी सेवा दिनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । नागरिकलाई रोगले थिच्न नदिने पालिकाको लक्ष्य रहेको उल्लेख गर्दै तिवारीले समस्या परेमा तुरुन्त जानकारी गराउन आग्रह समेत गरे । शिविरमा डा. कृष्ण गुरुङले सबै बिरामीको सफल एसआइसिएस प्रविधिबाट शल्यक्रिया गरेकी थिइन् ।
यस कार्यक्रमले ग्रामीण र आर्थिक रूपमा कमजोर नागरिकलाई ठुलो राहत पुगेको छ । स्थानीयले गाउँमै गुणस्तरीय सेवा पाउँदा पालिकाको पहललाई प्रशंसा गरेका छन् भने गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित खबर
निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो
स्याङ्जा प्रहरीको सक्रियता : जडीबुटी, अवैध उत्खनन र फरार कसूरदारमाथि एकैसाथ कारबाही
करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव
पुतलीबजार नगरपालिकामा बुधबार शोक बिदा
यो पनि पढौँ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
कुलमान घिसिङलाई रास्वपा उपसभापति बनाउन रवि तयार, बालेन तेस्रो वरियतामा
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नुपर्छः प्रदेश प्रमुख भट्ट