स्याङ्जाको हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु भएको छ । जग्गा विवादका कारण केही महिना रोकिएको निर्माण कार्य समस्या समाधान भएसँगै पुनः अघि बढाइएको हो ।
२०८२ वैशाख ४ गते भएको सम्झौताअनुसार उक्त भवन निर्माणको जिम्मा प्रजिल कन्स्ट्रक्सनले लिएको छ । तीन करोड ७३ लाख ४५ हजार ८ सय ६७ रुपैयाँ २१ पैसाको लागतमा निर्माण हुने यो भवन गाउँपालिकाले उपलब्ध गराएको ड्रइङअनुसार करिब १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । बीचमा उत्पन्न भएको जग्गा विवादका कारण करिब पाँच महिना काम रोकिए पनि अब कुनै अवरोध नआए तोकिएकै समयभित्र काम सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको जनाएको छ ।
लामो समयदेखि अलपत्र परेको प्रशासकीय भवनको निर्माण सुरु भएपछि स्थानीय बासिन्दा खुसी देखिएका छन् । अन्य पालिकामा सुविधा सम्पन्न प्रशासकीय भवन देख्दै आएका हरिनासका नागरिकले आफ्नै पालिकामा पनि व्यवस्थित भवनको माग गर्दै आएका थिए ।
यसअघि गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले प्रशासकीय भवनभन्दा स्वास्थ्य सेवा प्राथमिक आवश्यकतामा पर्ने भन्दै पुरानै भवनबाट सेवा दिने नीति लिँदै आएका थिए । सोही कारण प्रशासकीय भवनका लागि आएको बजेट संघीय सरकारलाई फिर्ता गरेर मग्याम चिसापानीमा सुविधासम्पन्न अस्पताल निर्माण थालिएको थियो । अस्पतालको करिब २५ प्रतिशत काम सम्पन्न भएपछि मात्र प्रशासकीय भवनको ठेक्का प्रक्रिया अघि बढाइएको हो ।
हाल साँघुरो र अव्यवस्थित भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले नयाँ भवन निर्माणपछि सेवा प्रवाह सहज, सरल र व्यवस्थित हुने विश्वास लिएको छ । साथै महत्त्वपूर्ण कागजात सुरक्षित राख्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हरिनास गाउँपालिकालाई समृद्ध र सेवामैत्री बनाउने अभियानअन्तर्गत नयाँ प्रशासकीय भवन निर्माण अघि बढाइएको अध्यक्ष मानन्धरले बताए । बाँकी कार्यकालमा सकेसम्म विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ छ ।
सम्बन्धित खबर
कालीगण्डकीमा समयमै बनेको होस्ती पुल, आँधीघाट पुलले भने खायो आठ वर्ष
कालीगण्डकी नदीका पुल वर्षौँदेखि अधुरै
एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति
हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु
अर्मादीखोलामा पक्की पुलको काम सुरु
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस