कालीगण्डकी नदीमाथि आधा दर्जनभन्दा बढी मोटरेबल पुल म्याद नाघेर निर्माण भइरहेका बेला होस्ती पुल भने काम सुरु भएको डेढ वर्षमै सम्पन्न भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने तथा गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने यो पुल समयअघि नै तयार भएको हो ।
सपना निर्माण सेवाले २०७९ कात्तिक २३ गते तीन वर्षभित्र काम सक्ने गरी सम्झौता गरेको भए पनि सम्झौताको पहिलो एक वर्ष डिजाइन नबन्दा निर्माण अघि बढ्न सकेको थिएन । ढिलै सुरु भए पनि काम थालेपछि डेढ वर्षमै पुल निर्माण पूरा गरिएको हो ।
तीन स्पानमा करिब २०० मिटर लम्बाइको यो पुल ३० करोड ६४ लाख ३८ हजार ८ सय रुपैयाँमा निर्माण भएको पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले जानकारी दिए । साना पुलहरू समेत समयमै नबन्ने अवस्था देखिँदा ठूलो संरचना समयअघि नै सम्पन्न हुनु सकारात्मक सन्देश भएको उनको भनाइ छ ।
होस्ती पुल कालीगण्डकी करिडोरसँग जोड्ने रामनदी पुलपछिको सबैभन्दा नजिकको संरचना हो । यस पुल निर्माणसँगै कालीगण्डकी क्षेत्रबाट लुम्बिनी प्रदेश हुँदै तराई र भारत आवतजावत सहज भएको छ । पहिले निर्दीमघाट–हुँगी हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय रेशम पंगेनीले बताए ।
यता, चापाकोटको आँधीघाट र रामपुरको बर्द जोड्ने अर्को मोटरेबल पुल भने आठ वर्षपछि मात्र निर्माण सम्पन्न भएको छ । २०७४ मङ्सिर २२ गते एमएस सपना/महादेव खिम्ती/हिरा जेभीले तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेको यो पुल पटक–पटक म्याद थपिँदै अन्ततः आठ वर्षमा सम्पन्न भएको हो ।
आँधीघाटमा निर्माण भएको पुलको लम्बाइ २२० मिटर रहेको छ । संरचनागत रूपमा मुख्य काम सकिए पनि सामान्य कार्य बाँकी रहेको पुल सेक्टर पोखराले जनाएको छ । पुल निर्माणका लागि २८ करोड ३७ लाख ३ हजार ३ सय रुपैयाँको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले चार स्पानको पुलका लागि पाँचौँ पटक चैत ३० गतेसम्म म्याद थपेको थियो ।
एउटै नदीमा बनेका यी दुई पुलले विकास आयोजनामा समय व्यवस्थापन र कार्यान्वयनको फरक चित्र प्रस्तुत गरेका छन् ।
सम्बन्धित खबर
राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्