पोखरा महानगरको फोहोर विसर्जन गर्न छनोट गरिएको ल्याण्डफिल साइटका स्थानीयबासी र महानगरबीच सहमति हुन नसक्दा विवादले उग्र रूप लिएको छ।
स्थानीयबासीले शुक्रबार पोखरा महानगर वडा नम्बर–३३ वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरिहेका बेला वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएर अपशब्द बोलेपछि विवादले उग्र रूप लिएको स्थानीय सञ्जय आचार्यले बताए।
वडाध्यक्ष अधिकारीले खुकुरी नचाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने प्रदर्शनकारीले वडाध्यक्षको गाडी तोडफोड गरेका छन्। प्रदर्शनकारीले गाडीमा आगो लगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले वडाध्यक्ष र प्रदर्शनकारीबीच झडप हुन नदिन वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिएको बताए। खुकुरी नचाएका विषयमा अनुसन्धान गरेर कारबाही अघि बढाउने उनले बताए।
महानगरले पोखरा– ३३ पुँडिटारमा ल्याण्डफिल साइट बनाउने भन्दै मंसिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सार्वजनिक निजी साझेदारीमा सम्झौता गरेको थियो। सम्झौता अनुसार उक्त कम्पनीले ८० करोड रुपैयाँ लगानी गर्ने, ल्याण्डफिल साइट व्यवस्थापनदेखि प्रशोधन केन्द्र निर्माण गर्ने जनाएको छ।
२१ वर्षका लागि भएको सम्झौतामा २६ महिनाभित्र प्रशोधन केन्द्र निर्माण गरिसक्ने र महानगरले ३० दिनभित्र जग्गा उपलब्ध गराउने सर्त राखिएका छन्।
परियोजनाले फोहोर प्रशोधन गरी ऊर्जा लगायत अन्य उत्पादनमा जोड दिएको छ। ल्याण्डफिल साइट बनाउन स्थानीय १७ परिवारको नाममा लालपूर्जा भएको ९६ रोपनी जग्गा महानगरले रोक्का राखेको छ।
स्थानीयबासीसँग कुनै सरसल्लाह नगरीकन एकलौटी ढंगले ल्याण्डफिल साइट बनाउन लागेको भन्दै विरोध जनाएका हुन्।
उनीहरूले उक्त स्थानमा ल्याण्डफिल साइट बनाउँदा स्थानीयबासीको स्वास्थ्यमा समस्या आउने, खोलाको पानी दुषित हुने, उत्पादन क्षेत्रमा ह्रास आउने लगायतका समस्या आउने भन्दै ल्याण्डफिल साइट बनाउन नदिने अडान राखेका छन्।
पुडिटारका स्थानीयले यसअघि पनि महानगरपालिका पुगेर उक्त स्थानमा ल्याण्डफिल साइट बनाउन उपयुक्त नहुने भन्दै ज्ञापनपत्र बुझाएका थिए।
वडाध्यक्ष अधिकारी २०७९ काे स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?