प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय

Harinas-player-catches-out-Arjun-Chaupari’s-player

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सम्पन्न खेलहरूमा हरिनास गाउँपालिका र चापाकोट नगरपालिका विजयी भएसँगै अन्तिम चारमा पुग्ने टिमको टुंगो लागेको हो ।

खुमा अर्याल फाउण्डेसन स्याङ्जाको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत समूह ‘डी’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अर्जुनचौपारी गाउँपालिकाले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन मात्र बनाएको थियो । सेमिफाइनल प्रवेशका लागि हरिनासलाई ११.४ ओभरभित्र लक्ष्य भेट्टाउनुपर्ने दबाब थियो । हरिनासले १०.१ ओभरमै दुई विकेटको क्षतिमा १०२ रन जोड्दै लक्ष्य सहजै पार गरेको थियो ।

हरिनासको जितमा दिवस कुँवरले ३५ रन बनाए भने अविजित ३४ रनको योगदान दिएका मिलन क्षेत्रीले तीन विकेट पनि लिएका थिए । यही खेलमा उत्कृष्ट प्रदर्शन गरेका मिलन क्षेत्री ‘प्लेयर अफ द म्याच’ बन्दै पाँच हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् ।

त्यसैगरी, समूह ‘ए’ को खेलमा चापाकोटले बिरुवा गाउँपालिकामाथि विशाल जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चापाकोटले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा २४३ रनको योगफल तयार गरेको थियो । चापाकोटका लागि विशाल कोईरालाले ९७, आशिष ताम्राकारले ४९, करण पंगेनीले ४३ तथा अपराजित पौडेलले ३५ रन बनाएका थिए । बिरुवाका स्वप्निल लम्सालले तीन र भीमबहादुर गुरुङले दुई विकेट लिएका थिए ।

२४४ रनको लक्ष्य पछ्याएको बिरुवा ९.२ ओभरमै सबै विकेट गुमाउँदै जम्मा १९ रनमै समेटिएको थियो । बिरुवाका खेलाडीमध्ये नौ रन मात्र ब्याटबाट आएका थिए । चापाकोटका समिर पंगेनीले चार विकेट लिए भने नारायण भट्टराई र रोहित सिंह दर्जीले दुई–दुई विकेट हात पारेका थिए । यस खेलका ‘प्लेयर अफ द म्याच’ विशाल कोईराला घोषित हुँदै पाँच हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।

अब सेमिफाइनलमा सोमबार समूह ‘बी’ को विजेता वालिङ नगरपालिका र समूह ‘डी’ को विजेता हरिनास गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता चापाकोट नगरपालिका र समूह ‘सी’ को विजेता गल्याङ नगरपालिका आमनेसामने हुनेछन् । प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको छ ।

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जालाई क्रिकेटसहितका खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तृतीय हुने टिमले एक लाख र सान्त्वना टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले विशेष रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ । साथै प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’लाई पाँच हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds