लेखनाथ । स्याङ्जा जिल्लाको प्रतिनिधित्व गर्ने होराइजन क्लब वालिङ्गले २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ।
शनिबार लेखनाथमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको सशक्त टोलीलाई सडेन डेथमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
निर्धारित समयको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। होराइजनका जर्सी नम्बर ९ का स्ट्राइकर बसन्तबहादुर रानाले खेलको ६१ औँ मिनेटमा उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि गण्डकी प्रदेश प्रहरीका जर्सी नम्बर ४४ का मिडफिल्डर रोजल दाहालले अतिरिक्त समयको ९२ औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई थप रोमाञ्चक बनाएका थिए ।
अतिरिक्त १० मिनेटमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल सडेन डेथमा पुगेको हो ।
उपाधिसँगै च्याम्पियन होराइजन क्लब वालिङ्गले नगद रु. ४ लाख ९९ हजार ९९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको गण्डकी प्रदेश प्रहरीको टोलीले रु. ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस अघि आदर्श युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षता तथा सचिव सन्तोष गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।
समारोहका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले भण्डारढिकस्थित कभर्ड हल निर्माणका लागि बजेट विनियोजन भइसके पनि कार्यान्वयन नहुनु दु:खद विषय भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
उत्कृष्ट खेलाडी तथा विधागत पुरस्कार
समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई पुरस्कार प्रदान गरिएको थियो। गण्डकी प्रदेश प्रहरीका जर्सी नम्बर ४४ का रोजल दाहाल उत्कृष्ट खेलाडी घोषित भए भने होराइजन क्लबका सुन्दर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बन्न सफल भए।
यस्तै, उत्कृष्ट गोलरक्षक होराइजनका टोपबहादुर राना, उत्कृष्ट डिफेन्स होराइजनकै सन्दीप श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर तथा प्लेमेकर गण्डकी प्रदेश प्रहरीका सुशील लामा घोषित भए। फेयर प्ले टिमको उपाधि तनहुँ जिल्ला फुटबल विकास समिति (एन्फा तनहुँ) ले प्राप्त गरेको छ।
विधागत पुरस्कार फस्ट चोइस फुड प्रा.लि.का प्रतिनिधि तथा मार्केटिङ म्यानेजर रमेश घिमिरे, क्लबका सल्लाहकार तथा प्रायोजक छत्रधर आत्रेय, पूर्व अध्यक्षहरू विजय गुरुङ र विशाल श्रेष्ठ, संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, सल्लाहकार मेजर रामप्रसाद गुरुङ तथा स्थानीय यातायात व्यवसायी केदार पौडेल लगायतका अतिथिहरूले वितरण गरेका थिए ।
२६ औँ संस्करणसम्म आइपुग्दा आदर्श कप गण्डकी प्रदेशकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा स्थापित हुँदै गएको छ। प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान, युवा खेलाडीको विकास र क्षेत्रीय फुटबलको स्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको आयोजकको भनाइ छ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस