महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

Navagraha_22

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा रहेको नवग्रह मन्दिरमा यस वर्षको महाशिवरात्री विशेष बनाइने भएको छ । महाशिवरात्रीकै दिन जिल्लामै पहिलो पटक अन्तरविद्यालय भजन प्रतियोगिता आयोजना गरिनुका साथै विशेष पूजा र दीप प्रज्वलन कार्यक्रम हुने भएको हो ।

अर्जुनचौपारी गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत फागुन ३ गते बिहान १० बजेदेखि ‘प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता’ सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्दै मौलिक संस्कार, संस्कृति र आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

प्रतियोगितामा स्याङ्जा जिल्लाभित्रका सामुदायिक तथा निजी विद्यालयले सहभागिता जनाउन सक्नेछन् । प्रस्तुत गरिने भजनमा अर्जुनचौपारी र स्याङ्जाको धार्मिक पर्यटन, स्थानीय मौलिकता, आध्यात्मिक भाव र नैतिक सन्देश झल्किनुपर्ने गाउँपालिकाको भनाइ छ । परम्परागत भजन–कीर्तनलाई प्राथमिकता दिइनेछ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विद्यार्थीहरूले भजनको गरिमा झल्किने मौलिक वा विद्यालयको औपचारिक पोशाक लगाउनुपर्नेछ । गाउँपालिकाले ‘मौलिक संस्कृति र आध्यात्मिक चेतनाको प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

यसैबीच, महाशिवरात्रीको अवसरमा नवग्रह मन्दिरमा विशेष पूजा कार्यक्रम पनि आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष महाशिवरात्रीकै दिन प्राणप्रतिष्ठा सम्पन्न भएको मन्दिरमा यस वर्ष नौ लाख ९९ हजार ९९९ दीप प्रज्वलन गरिने समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए । सोही दिन चर्चित गायक पशुपति शर्मा लगायतको सांगीतिक प्रस्तुति पनि रहनेछ ।

नेपालमै पहिलो पटक अर्जुनचौपारी गाउँपालिकाको वडा नम्बर १ मा निर्माण गरिएको नवग्रह मन्दिर हाल धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । करिब आठ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक वनभित्र नवभुज आकारको २७ फिट अग्लो मन्दिर निर्माण गरिएको छ । मन्दिरको स्तम्भको सबैभन्दा माथिल्लो भागमा आकाशतर्फ फर्किएको सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ, जसले यस क्षेत्रलाई धार्मिकसँगै सांस्कृतिक र पर्यटकीय रूपमा समेत आकर्षक बनाएको स्थानीयको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds