बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै

राजनीति

बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै

प्रतिबन्धित अवामी लिगकी शेख हसिनाले भनिन्– चुनाव फर्जी र असंवैधानिक

Bangladesh-Nationalist-Party-BNP-leader-Tarique-Rahman

बंगलादेशमा विद्यार्थी आन्दोलनले सरकार ढालेको १८ महिनापछि निर्वाचन भएको छ। सन् २०२४ को जुलाईमा विद्यार्थीहरूको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत मात्रै गरेन, देशै छाडेर भाग्नुपर्ने स्थिति बन्यो।

बंगलादेशमा निर्वाचनको अन्तिम नतिजा आउनै लाग्दा हसिना भने भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। प्रधानमन्त्री हुँदा आन्दोलनलाई दमन गरेर १४ सयभन्दा बढी विद्यार्थीको हत्या गरेको अभियोगमा उनलाई बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

साथै, मोहम्मद युनुसको अन्तरिम सरकारले हसिनाको अवामी लिगलाई प्रतिबन्ध समेत लगाएको थियो। त्यसकारण अवामी लिगले यसपालि चुनावमा भाग लिन पाएन।

निर्वाचनको अन्तिम परिणाम आउनै लाग्दा बंगलादेशमा हालै निधन भएकी जिया खालिदाका बिएनपी (बंगलादेश नेश्नलिस्ट पार्टी)ले सरकार चलाउने निश्चित भएको छ। उसको गठबन्धनले बहुमत पाइसकेको छ भने दुई तिहाईतर्फ अग्रसर भइरहेको छ।

३०० सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि कम्तिमा १५१ सिट आवश्यक हुन्छ। यो आँकडा बिएनपीले शुक्रबार बिहान कटाइसकेको छ।

विद्यार्थी आन्दोलनबाटै हसिना र अवामी लिग सत्ताबाट बहिर्गमन भए पनि बंगलादेशको सरकारले विद्यार्थी आन्दोलनबाट स्थापित पार्टी नेसनल सिटिजन पार्टी (एनसिपी) लाई भने अनुमोदन गरेन। त्यो दलले बिहानसम्म ६ सिट मात्रै जितेको छ।

अर्को दल जमात-ए-इस्लामी पनि यसपालि प्रतिपक्षमै बस्ने भएको छ। शुक्रबार बिहानसम्म उसले अधिकतम ६० सिटसम्म जित्न सक्ने आँकडा सार्वजनिक भएको छ।

बिएनपीले बहुमत कटाइसकेका कारण सो पार्टीले सरकार चलाउने निश्चित भएको छ। त्यसअनुसार बिएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्नेछन्।

तारिक बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्।

सन् १९८१ मा राष्ट्रपति रहँदै जियाउर रहमानको हत्या भएपछि बिएनपीको नेतृत्व खालिदा जियाले गरेकी थिइन्। तारिक पार्टीका कार्यवाहक अध्यक्ष थिए। उनी लण्डनबाटै पार्टी सञ्चालन गर्थे।

एक महिनाअघि मात्रै आमाको निधन भएपछि बिएनपीको नेतृत्व तारिकको काँधमा आइपुगेको हो। सन् २००८ मा परिवारसहित लन्डन प्रस्थान गरेका उनी करिब १७ वर्ष त्यहीँ रहे। पछि उनले बेलायतमा राजनीतिक शरण लिएको तथ्य पनि सार्वजनिक भएको थियो।

गत वर्ष डिसेम्बरमा आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनी ढाका फर्किएका थिए। खालिदा जियाको निधनपछि बिएनपीको स्थायी समितिले औपचारिक रूपमा उनलाई पार्टी अध्यक्ष चयन गरेको थियो।

१८ महिना जेल र १७ वर्ष निर्वासनपछि उनको स्वदेश फिर्तीलाई विश्लेषकहरूले त्यतिबेलै राजनीतिक बिएनपीको राजनीतिक पुनर्जन्म भनेका थिए।

यसपालि प्रमुख प्रतिस्पर्धी दल अवामी लिगमाथिको प्रतिबन्ध पनि बिएनपीको विशाल जितको अर्को कारण हो।

बिएनपीले पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो। शेख हसिनाविरूद्ध भएको विद्यार्थी आन्दोलनलाई पनि खालिदा जियाले समर्थन गरेकी थिइन्।

प्रतिबन्धित अवामी लिगकी शेख हसिनाले भनिन्– चुनाव फर्जी र असंवैधानिक

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बिहीबार सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन् ।

भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी ‘अवामी लिग’ लाई चुनावमा प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर निर्वाचन गराएको आरोप लगाउँदै यसलाई अवैध घोषणा गरेकी हुन् ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै हसिनाले भनिन्, ‘मोहम्मद युनुसले असंवैधानिक तरिकाले सत्तामा कब्जा जमाए र सोही सेटिङ अन्तर्गत यो देखावटी चुनाव गराइएको हो। जनमतलाई कुल्चिएर गरिएको यो निर्वाचनको कुनै वैधानिकता छैन।’

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ । तर, हसिनाले भने मुख्य प्रतिस्पर्धी दल अवामी लिगलाई प्रक्रियाबाटै बाहिर राखेर गरिएको चुनावले बंगलादेशी जनताको वास्तविक प्रतिनिधित्व नगर्ने दाबी गरेकी छन् । १५ वर्षसम्म बङ्गलादेशमा शासन गरेकी हसिनाको पार्टीलाई यसपटक चुनाव लड्न रोक लगाइएको थियो ।

निर्वाचनमा जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७० सिट प्राप्त गरेको छ। जमातका प्रमुख शफिकुर रहमानले ढाका-१५ बाट जित हासिल गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds