काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्रै जुलुस, आमसभा, कोणसभा र घरदैलो जस्ता प्रचारप्रसारका कार्यक्रम गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले आइतबार जारी गरेको ६४ बुँदे निर्देशनमा निर्वाचन आचारसंहिता बमोजिम प्रचारप्रसारका लागि १५ दिनको समय सीमा तोकिएको हो । आयोगका अनुसार फागुन १८ गतेपछि र मतदान हुने दिनभन्दा ४८ घण्टा अगाडिदेखि कुनै पनि प्रकारका चुनावी सभा वा प्रचार सामग्रीको प्रकाशन र प्रसारण गर्न पाइने छैन ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले प्रचारप्रसारका क्रममा विभिन्न प्रतिबन्धहरू समेत लगाएको छ । निर्देशनमा कुनै पनि उम्मेदवार वा दलले हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन गर्न नहुने, मतदातालाई डर, त्रास वा धम्की देखाउन नहुने र सामाजिक बहिष्कार गर्ने जस्ता कार्य गर्न नपाइने उल्लेख छ । निर्वाचनको अवधिभर मतदातालाई उपहार, पुरस्कार, इनाम वा नगद र जिन्सी दिने तथा सार्वजनिक भोजको आयोजना गर्न आयोगले पूर्ण रूपमा रोक लगाएको छ । यस्तै उम्मेदवारले प्रचारका लागि ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इन्च क्षेत्रफल भएको एउटै रङको पर्चा मात्र प्रयोग गर्न पाउनेछन् । भित्ते लेखन, पोस्टर, ब्यानर र डिजिटल डिस्प्ले प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
आर्थिक पारदर्शिताका लागि आयोगले २५ हजार रुपैयाँभन्दा बढीको सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोहीमार्फत खर्च गर्न निर्देशन दिएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्चको विवरण जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गरी निर्वाचन प्रचार गर्न नहुने र सरकारी निकायबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नपाइने आयोगले स्पष्ट पारेको छ ।
सञ्चार माध्यमबाट गरिने विज्ञापनका लागि पनि आयोगले मापदण्ड तोकेको छ । टेलिभिजन र रेडियोबाट २४ घण्टामा बढीमा ४ पटक र एक पटकमा बढीमा १ मिनेट मात्र निर्वाचन विज्ञापन प्रसारण गर्न पाइनेछ । पत्रपत्रिकामा बढीमा ४ कोलम र २५ सेन्टिमिटर उचाई सम्मको विज्ञापन मात्र छाप्न अनुमति दिइएको छ । मौन अवधि सुरु भएपछि सामाजिक सञ्जालबाट समेत कुनै पनि प्रकारका प्रचार सामग्री पोष्ट वा शेयर गर्न र प्रतिक्रिया दिन नपाइने गरी आयोगले कडाइ गरेको छ ।
मतदानको दिन र मतगणना स्थलको सुरक्षाका लागि पनि आयोगले विशेष निर्देशन दिएको छ । मतदान केन्द्रको ३ सय मिटर वरपर कुनै पनि राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री राख्न नपाइने र निर्वाचन चिह्न अंकित टोपी, टिसर्ट वा झोला प्रयोग गर्न रोक लगाइएको छ । निर्वाचन आचारसंहिताको उल्लंघन भएमा जोसुकैले पनि लिखित वा मौखिक रूपमा निर्वाचन अधिकृतको कार्यालय वा आयोगमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । आयोगले यी निर्देशनहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय रहन आग्रह गरेको छ ।
सम्बन्धित खबर
निर्वाचन आयोगले भन्यो- फागुन ४ देखि १८ गतेसम्म मात्रै चुनाव प्रचार गर्न पाइनेछ
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
आज २६३औँ सेना दिवस : टुँडिखेलमा विशेष समारोहको आयोजना
नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा नेता मात्र होइन, मतदाता पनि दोषी छन्: राजेन्द्र लिङदेन
पूर्वराजा शाहको स्वागतमा त्रिभुवन विमानस्थलमा समर्थकको भीड
एउटा व्यक्तिले देश बनाउने भए पहिले नै राजा महाराजाले बनाइसक्ने थिए: गगन थापा
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ