पोखरा । गत फागुन २ गते शनिबार सबेरै २ बजेतिर सेदीस्थित फेवातालमा कार खसेर एक युवकको ज्यान गयो । सशस्त्र प्रहरीले स्याङ्जा फेदीखोला ५ घर भई पोखरा ७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको डुबेर ज्यान गएको तस्वीर, भिडियोसहित सूचना प्रवाह गरेको थियो । त्यसै अनुसार मिडियामा समाचार प्रकाशन प्रसारण भएका थिए ।
तर, मृतक २५ वर्षीय अतित गुरुङ रहेको खुलेको छ । परिवारले कार अतितले नभई अरुले नै चलाएको र अर्का युवक पनि घाइते भएकाले कार चालक विरुद्ध वडा प्रहरी कार्यालय बैदाममा आइतबार जाहेरी दरखास्त दिएको छ ।
अतितकी आमा पार्वती गुरुङका अनुसार कार चालक पोखरा महानगरपालिका वडा नम्बर १६ दिप हाउजिङ घर भएका मिलिन्द तुलाचन हुन् । बिएए १५८२ नम्बरको कार दुर्घटनामा परेको थियो ।
तीन जनाले पोखरा १८ स्थित भेटघाट रेष्टुरेन्टमा ४ बोतल बियर पिएका थिए । मृतक अतित, घाइते एन्जल गुरुङ र सवारी चालक मिलिन्द फेवातालको उत्तर तर्फ भकुण्डेस्थित भेटघाट खाजाघरबाट राती साढे १ बजे लेकसाइड जाने भन्दै निस्किएका थिए । २ बजेतिर उनीहरु दुर्घटनामा परेका हुन् । एञ्जल गण्डकी मेडिकल कलेजमा उपचाररत छन् । तुलाचन प्रहरी हिरासतमा छन् । उनीहरूले मापसे गरेको खुलेको छ ।
मृतक अतितकी आमा पार्वतीले घटना रहस्यमयी रहेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । बेलुका अन्दाजी ९ बजेर ३० मिनेटमा खाजा खान भनि आफ्नो होटलमा आएका व्यक्तिहरुले आफ्नो छोरालाई गाडीमा हालेर लेकसाइडतर्फ लिएर गएको उनको आरोप छ ।

जाहेरीमा उल्लेखित विवरण सारसंक्षेपमा यस्तो छः
‘२०८२ फागुन १ बजे राती ९ः३० बजेतिर खाजा खान भनी आएकोमा निजहरुले मेरो पसलमा प्रति व्यक्ति ३/४ बोतल गोर्खा स्ट्रोङ्ग बियर पिएका रहेछन् । ९ः३० बजे खाजा खान आएको व्यक्तिहरु २ः०० बजेसम्म त्यसै होटेलमा करीब ४ घण्टासम्म बसेको देखिन्छ । राति अर्थात् बिहानीपख मात्र खाजा खान अर्को होटेल खोज्दै हिँडेको भन्ने कुरा स्वभाविक देखिँदैन वा पत्यारलायक छैन । यस तथ्यबाट निज विपक्षीहरु दुबै जनाले रातिपख मेरो छोरालाई अनुचित प्रभावमा पारी बाहिर लिएर गएको भन्ने प्रष्ट बुझिन्छ । गाडी फेवातालमा अन्दाजी २ मिटर जति ठाडो भिरबाट खसेको भनेकोमा गाडी खस्दा गाडीको अगाडिको भाग क्षतिग्रस्त हुनुपर्नेमा अगाडिको भाग र सवारी चालक बस्ने सिट तथा संगैको सिट जस्ताको त्यस्तै हुनु अर्थात् कुनै क्षति पुगेको नदेखिनु, तर पछाडिको भाग कच्याककुचुक हुनु, फेरि पनि पछाडि बसेको भनेको व्यक्ति एन्जल गुरुङको पछाडि ढाड सहित कुनै पनि अंगमा कुनै पनि चोट पटक लागेको नदेखिनु, मेरो छोरा अतित गुरुङ सवारी चालकसंगैको बायाँ सिटमा बसेकोमा सो सिट जस्ताको त्यस्तै रहनु र छोराको कुनै पनि अंगमा कुनै चोट पटक लागेको नदेखिनुले घटना रहस्यमय रहेको प्रष्ट बुझिन्छ ।
पानीमा खसेका भनिएका सहअभियुक्तहरुको भनाई अनुसार गाडी फेवा तालको किनारमा खसेकोमा तीनै जना गाडीबाट बाहिर निस्किएको र अतित गुरुङ्लाई पानीबाट बाहिर निस्किँदै गरेको सहअभियुक्त दुबै जनाले देखेको, निजहरुमध्ये एन्जल गुरुङ्ले गुहार गुहार भनी गुहार माग्दा र साथी पानीमा डुबेको छ भनी भन्दा सशस्त्रको प्रहरी आएपछि मात्र निकाल्न मिल्छ, हामीले निकाल्न मिल्दैन भनी अन्य व्यक्तिहरुले भनेको भनी भनेकोमा दुई जना बाहिरिएर जीवित हुन पुग्नु तर पुनः मेरो छोरा अतित गुरुङ मात्र पानीभित्र मृत फेला पर्नु तर निज फेला परेको स्थानमा पानी घुँडा घुँडासम्म मात्र रहनु, मेरो छोरा माछा मार्ने छालमा परेको, जाल काटेर निकालेको भनी भनेकोमा जालमा परेको मान्छे तालको किनारामा देखेको भनी सहअभियुक्तहरुले घटनाको बारेमा बताउनुले घटना रहस्यमय तथा शंकास्पद रहेको प्रष्ट देखिन्छ ।

अतित गुरुङ्लाई बिगत १/२ बर्षदेखि अभियुक्तहरुमध्ये मिलिन्द तुलाचनले संगसंगै व्यापार व्यवसाय गर्न दबाब दिइरहेको र छोराले व्यापार व्यवसाय गर्न इन्कार गरेको कुरा छोरा अतित गुरुङ्ले मलाई बताउने गरेका थिए । मिलिन्द तुलाचन समाजमा प्रतिष्ठित, प्रभावशाली परिवारको व्यक्ति भएको, निजसंग संगत छोड्न वा निजको प्रस्तावलाई ठाडै इन्कार गर्न पनि नसकिने, साथै निजसंगको आर्थिक हैसियत नमिल्ने कारणले निजसंग व्यापार व्यवसाय गर्न पनि नसकिने दोधार स्थितिमा रहेको कुरा छोरा अतितले मलाई बताउने गरेका थिए । यसले कतै सोही कुराको भित्रभित्रै मनमुटावको स्थिति रही सोही मनमुटाव कतै यो घटनामा परिणत भएको हो कि भन्ने आशंका पनि पैदा भएको अवस्था छ । साथै, घटना पछि पनि घटनालाई वा मुद्दालाई बिषयान्तर हुनेगरी वा कमजोर बनाउने गरी अनलाइन संचार माध्यमको खबरमा मृतक आफै सवारी चालक भनी उल्लेख गरी सूचना प्रवाह गर्नुले पनि वारदातलाई कमजोर बनाउन खोजिएको प्रष्ट देखिन्छ ।
सवारी चालक मिलिन्द तुलाचनले यसअघि एमजी कम्पनिको सेतो रंगको विद्युतिय सवारी साधन चलाउने गरेका थिए । तर, घटना हुनु एक दुई दिन यता कम सुरक्षित, मुल्यको हिसाबले सस्तो मारुती सुजुकी कम्पनिको गाडी साँझपख लिन आउने गरेको देखिन्छ । घटनामा सह अभियुक्त भनिएका एञ्जल गुरुङ्ले गाडीको गति नियन्त्रण गर्न अनुरोध गर्दा समेत नियन्त्रण नगरी गाडी चलाउनु र उनले रहस्यमयी रुपमा गाडी परिवर्तन गर्नुले घटना घटाउने उद्देश्यले मात्रै यो गाडी परिवर्तन गरेका हुन् कि भन्ने देखिन्छ । सो विषयमा पनि विस्तृत र सुक्ष्म अनुसन्धान तहकिकात गरिपाऊँ ।’
सम्बन्धित खबर
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
यो पनि पढौँ
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु