स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

Election-materials-arrive-in-Syangja,-preparations-intensify

यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री स्याङ्जा आइपुगेको छ । निर्वाचन आयोगले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान सञ्चालन गर्न आवश्यक मतपत्र, मतपेटिका, छाप, स्ट्याम्प प्याड, मतदाता नामावलीलगायत ५१ प्रकारका सामग्री पठाएको हो ।

सामग्री प्राप्त भएसँगै वितरण र व्यवस्थापनको कामलाई तीव्रता दिइएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला निर्वाचन अधिकृत श्रीराम थापाले जानकारी दिए । “अब मतदान केन्द्रसम्म सामग्री पुर्‍याउने तयारी अन्तिम चरणमा पुगेको छ,” उनले भने ।

जिल्लाभर १९९ मतदान स्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ५६ वटा केन्द्रलाई अति संवेदनशील, ७१ वटालाई संवेदनशील र ७२ वटालाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष दुई वटा मतदान केन्द्र थपिएको प्रमुख थापाले बताए । साथै, जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीका लागि एक अस्थायी मतदान स्थलको पनि व्यवस्था मिलाइएको छ ।

विगतका गतिविधि, भौगोलिक अवस्था, सडक पहुँच र पूर्वाधारको स्थितिलाई आधार मानेर सुरक्षा संवेदनशीलता निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

मतदान स्थलहरूमा आवश्यक मर्मत, खानेपानी व्यवस्थापन र तारबारको काम सम्बन्धित वडाध्यक्षमार्फत भइरहेको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिइने बताए ।

यसैगरी, अति संवेदनशील र संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षा बल परिचालन गरिने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन् । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १२ जना र क्षेत्र नं. २ मा दुई स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा छन् ।

जिल्लाभर २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । तीमध्ये १ लाख २२ हजार ४६४ जना पुरुष र १ लाख २६ हजार ३५१ जना महिला मतदाता रहेका छन् । यसका अतिरिक्त अन्य समूह अन्तर्गत एक जना मतदाता पनि नामावलीमा समावेश छन् ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८८६ जना मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख १७ हजार ९३० जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रशासनले शान्तिपूर्ण, मर्यादित र निष्पक्ष वातावरणमा मतदान सम्पन्न गराउन सबै राजनीतिक दल र सरोकारवाला पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ