स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक

स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक

alchol-file-pic

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा शुक्रबार मध्यरातदेखि मदिराजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा रोक लगाइएको छ । अन्तिम मत परिणाम सार्वजनिक नभएसम्म जिल्लाभर ‘ड्राइ डे’ लागू रहने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि मदिरा बिक्री, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बताए ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८, निर्वाचन आयोगको परिपत्र तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रतिबन्ध लागू गरिएको सहायक प्रजिअ सुवेदीको भनाइ छ । “शुक्रबार राति १२ बजेदेखि अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्रीवितरण र सेवन गर्न पाइने छैन,” प्रशासनले स्पष्ट पारेको छ ।

निर्वाचन अवधिभर शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न होटल तथा मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार र सर्वसाधारण सबैलाई सहयोग गर्न आग्रह गरिएको छ । सूचनाको कार्यान्वयनका लागि सुरक्षा निकायबाट निगरानी बढाइने र उल्लंघन गर्ने उपर प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि स्याङ्जामा दुई लाख ४८ हजार ८१६ मतदाता कायम छन् । जिल्लाभर १९९ मतदान स्थलअन्तर्गत ३२२ नियमित मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा मतदान हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ