स्याङ्जामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ । मतदान प्रक्रियालाई व्यवस्थित र त्रुटिरहित बनाउन कर्मचारी छनोटदेखि मतदाता शिक्षा कार्यक्रमसम्मका काम एकसाथ अघि बढाइएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ र निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले सूचना जारी गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको नाम सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार क्षेत्र नम्बर १ मा १७२ जना मतदान अधिकृत र उस्तै १७२ जना सहायक मतदान अधिकृत खटिने भएका छन् । यस्तै, क्षेत्र नम्बर २ मा १५१ जना मतदान अधिकृत र उस्तै १५१ जना सहायक मतदान अधिकृत चयन भएका छन् ।
यसैगरी, क्षेत्र नम्बर १ मा ५१३ जना सहायक कर्मचारी र १७२ जना सहयोगी कर्मचारी खटिने भएका छन् । त्यस्तै, क्षेत्र नम्बर २ मा ४५३ जना सहायक कर्मचारी र १५१ जना सहायक मतदान अधिकृत चयन भएका छन् ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमका अनुसार जिल्लाभर रहेका १९९ मतदान स्थलअन्तर्गत ३२२ नियमित मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा गरी जम्मा एक हजार ९३५ जना कर्मचारी परिचालन गरिएको हो । समानुपातिक मतदानका लागि जिल्ला कारागार स्याङ्जालाई अस्थायी मतदान केन्द्र बनाइएको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार फागुन १९ गतेभित्र सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने व्यवस्था मिलाइएको छ । ३२२ नियमित मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी खटाइएको बताइएको छ ।
प्रत्येक नियमित मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् । अस्थायी मतदान केन्द्रमा भने एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी रहने व्यवस्था गरिएको छ ।
साथै, ५०० भन्दा कम मतदाता भएका मतदान केन्द्रमा दुई जना र ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा तीन जना स्वयंसेवक राखिने जनाइएको छ । अस्थायी मतदान केन्द्रमा आवश्यक न्यूनतम जनशक्ति मात्रै परिचालन गरिने कार्यालयले जनाएको छ । स्वयंसेवक भने सम्बन्धित मतदान केन्द्र अधिकृतले राखिने बताइएको छ ।
“कर्मचारी परिचालन पारदर्शी ढंगले गरिन्छ,” मुख्य निर्वाचन अधिकृत गौतमले भने, “निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक निर्देशन पनि जारी गरिनेछ ।”
छनोट भएका सबै कर्मचारीलाई प्रशिक्षण दिइएको छ । प्रशिक्षणमार्फत मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन र मतगणनासम्बन्धी व्यवहारिक जानकारी दिइने जनाइएको छ ।
जनशक्ति व्यवस्थापनसँगै जिल्लामा मतदाता शिक्षा अभियानलाई पनि तीव्रता दिइएको छ । बदर मत घटाउने र मतदानका क्रममा हुन सक्ने प्राविधिक कमजोरी रोक्ने लक्ष्यका साथ जिल्लाका ११ वटै स्थानीय तहमा स्वयंसेवक परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतपत्र जिल्ला आइपुगेपछि मतदातालाई सही तरिकाले मतपत्र प्रयोग गर्ने अभ्यास गराउन विशेष कार्यक्रम सञ्चालन गरिएको छ । सबै वडामा स्वयंसेवकहरूलाई मतदान प्रक्रिया र मतदाताको अधिकारबारे अभिमुखीकरण गरी खटाइएको छ । विशेषगरी नयाँ मतदाता, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गर्दै सचेतना कार्यक्रम अघि बढाइएको हो ।
यस पटक स्याङ्जा क्षेत्र नम्बर १ मा एक लाख ३० हजार ८८६ जना र क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० जना गरी दुई लाख ४८ हजार ८१६ मतदाता कायम भएका छन् । निर्वाचनका लागि आवश्यक निर्वाचन सामाग्रीहरु यसअघि नै जिल्ला भित्र्याइसकिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा सुरक्षा, व्यवस्थापन र सचेतनाका कामले गति लिएको देखिन्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटेका छन् ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस