ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै

स्वास्थ्य

ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै

करिब ७ हजारलाई दादुरा बिरुद्धको खोप दिइँदै

birami-balbalikaa

बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रका बालबालिकामा दादुराको संक्रमण देखिएको छ ।

एक महिनादेखि ढोरपाटन नगरपालिकाका–७, ८ र ९ वडाका ८३ जना बालबालिकामा दादुराका लक्षण देखिएको थियो । जसमध्ये ३२ जनाकाे भर्ना भएर उपचार भइसकेको छ । सातजना बालबालिका अझै उपचाररत रहेका छन् ।

गत फागुन ८ मा ढोरपाटनमा एक बालकलाई दादुरा संक्रमण भएको पाइएको थियो ।

दादुरा संक्रमित एक बच्चालाई भने पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बालरोग विभाग प्रमुख प्रा.डा. रामचन्द्र बास्तोलाले संक्रमित बच्चालाई सुरक्षित तबरले भर्ना गरी उपचार गरिरहेको जानकारी दिए ।

बुधबार पनि २ जना नयाँ बिरामी थपिएका छन् । दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका– ८, बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन तयार गरेर उपचार भइरहेको छ । अधिकांश बिरामीलाई ज्वरो, खोकी र शरीरमा बिबिरा आउने गरेको पाइएको छ ।

खोप लगाउन सुरु

यसैबीच, दादुराका बिरामी बढ्न थालेपछि खोप लगाउन सुरु गरिएको छ ।

ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूमीश्वर शर्माका अनुसार शुक्रबारदेखि दादुराबिरुद्धको खोप दिन थालिएको छ । दादुरा संक्रमण नियन्त्रणका लागि खोप नै सबैभन्दा उत्तम उपाय भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समूहका सबै बालबालिकालाई तत्काल खोप लगाउन थालिएको हो । उनका अनुसार विद्यालयमा अध्ययन गर्ने र बाहिर रहेका १० देखि १९ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरिएको छ । यहाँका ६ हजार ७ सय ६३ जना बालबालिका र किशोर किशोरीलाई खोप लगाइने छ ।

बुर्तिवाङ अस्पतालका डा.विपिन थापाका अनुसार दादुराका बिरामी बढ्न नदिन नगरपालिकाभित्रका बालबालिका, किशोरकिशोरीलाई खोप लगाउन थालिएको छ । उपचारमा संलग्न २ सय ३७ स्वास्थ्यकर्मीलाई समेत दादुराबिरुद्धको खोप लगाउने तयारी गरिएको छ । खोप आइतबारसम्म सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ । हावाबाट सर्ने दादुराको संक्रमणबाट मानवीय क्षति हुन नदिन र समयमै उपचार गराउनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप पठाएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार  उमेर समूहअनुसार जन्मेको १५ महिनाभित्रका बालबालिकालाई दादुराको खोप लगाउनुपर्ने प्रावधान छ । तर, यहाँका बालबालिकाले समयमा खोप लगाएको हो वा होइन भन्ने यकिन नभएको र विविध कारणले गाउँमै संक्रमण फैलिएपछि खोप लगाइने भएको हो ।

गाउँगाउँमै पुगेर नमुना संकलन, परीक्षण र शंकास्पदलाई अस्पतालमै राखेर उपचार सुरु गरेका कारण छिट्टै नियन्त्रण गर्न सकिने अपेक्षा राखिएको छ ।

दादुराका मुख्य लक्षण के हुन् ?  

उच्च ज्वरो, आँखा रसाउनु, रातो हुनु र दुख्नु, रुघा र खोकी लाग्नु, बिरामी भएको महसुस गर्नु, मुखभित्र ससाना फोका देखा पर्नु, छालामा रातो वा खैरो खटिरा देखिनु,साधारणतया नचिलाउने गिर्खा प्रारम्भिक लक्षणहरूपछि देखा पर्छन् ।

सुरुमा अनुहार र कानको पछाडि देखिने डाबर त्यसपछि शरीरका अरू भागमा पनि फैलने गर्छ।

तर खैरो वा कालो छालामा त्यस्तो डाबर देख्न गाह्रो हुन्छ।

प्रायः देखिने जटिलतामा कानको सङ्क्रमण र झाडाबान्ता पर्छन्।

कतिपय व्यक्तिमा अझ गम्भीर समस्या देखिन सक्छ।

दादुरा बिग्रिए निमोनिया, इन्सेफलाइटिस (मस्तिष्क सुनिनु) र अन्धोपन पनि हुन सक्छ।

दादुरा कसरी फैलिन्छ ?  

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा निस्किने ससाना कणमा यो दादुराको भाइरस हुन्छ।

ती कण सास फेर्दा शरीरभित्र प्रवेश गरेको अवस्थामा वा तिनलाई छोएर आफ्नो हात, नाक वा मुखनजिक लैजाँदा पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ।

त्यस्तो डाबर देखिएको कम्तीमा चार दिनसम्म दादुरा भएका व्यक्तिहरूले सङ्क्रमण सार्न सक्छन्।

एक जना व्यक्तिबाट १८ जनासम्ममा फैलने भएकाले उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव छ।

उपचार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार दादुराको कुनै एन्टिभाइरल उपचार छैन। यसबाट जोगिने एक मात्र उपाय दादुराविरुद्धको खोप लगाउनु हो । यो रोग लागेर जटिलतातिर पुगेको खण्डमा सहयोगी उपचार तथा कम गर्ने प्रयास गर्न सकिन्छ ।

दादुरा सङ्क्रमण पुष्टि भएपछि लक्षणमा आधारित भएर चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ। लक्षणमा आधारित भएर पोषणयुक्त खाना खाने, पर्याप्त मात्रामा झोलिलो पदार्थ पिउने, पखाला, बान्ता भएमा जीवनजल पिउनु पर्छ।

ज्वरो आउँदा, आँखाको सङ्क्रमण र निमोनिया लगायतका समस्या कम गर्न एन्टिबायोटिक औषधि समेत दिइन्छ। सरकारले निःशुल्क प्रदान गर्ने दादुरा खोप ९ महिना र १५ महिनामा दुई मात्रा खोप लगाइएमा जोखिम निर्मुल गर्न सकिन्छ।

दादुराको लक्षण देखिएपछि बालबालिकालाई स्कुल जान, साथीहरुसँग खेल्न, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई सङ्क्रमण हुन सक्ने भएका कारण सावधानी अपनाउनुपर्छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ