पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै थापाको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक दिन शोक मनाउने र महानगरपालिका तथा मातहतका कार्यालय बन्द रहने जनाएको हो। महानगरपालिकाले जारी सूचनामा ‘स्वर्गीय थापाको सम्मानमा चैत १ गते आइतबारका दिन महानगरपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालय बन्द रहने’ उल्लेख गरेको छ।
सूचनाअनुसार स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्। विद्यालयका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने यथावत सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। सेवाग्राहीमा पर्न जाने असुविधाप्रति महानगरपालिकाले क्षमायाचना पनि गरेको छ।
महानगरपालिकाले थापाको निधनलाई पोखराका लागि ठूलो क्षति भएको उल्लेख गर्दै नगर विकास र समृद्धिमा उनले पुर्याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। सूचनामा ‘नगर प्रमुखको हैसियतमा उनले महानगरपालिकाको विकास र समृद्धिमा पुर्याएको योगदानको उच्च कदर गर्दै पोखरा महानगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’ भनिएको छ। साथै महानगरका जनप्रतिनिधि र कर्मचारी परिवारले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको पनि उल्लेख गरिएको छ।
थापा तत्कालीन पोखरा उपमहानगरपालिकाको नगर प्रमुखका रूपमा २०५४ देखि २०५९ सालसम्म निर्वाचित भएर काम गरेका थिए। प्रजातन्त्र पुनःस्थापनापछिको स्थानीय तहको नेतृत्व सम्हालेका उनी पोखराको शहरी विकास, पूर्वाधार विस्तार र नगर व्यवस्थापनमा सक्रिय नेताका रूपमा चिनिन्थे।
दीर्घ समय कम्युनिस्ट आन्दोलनमा सक्रिय थापा नेकपा एमाले कास्कीका प्रभावशाली नेता पनि थिए। उनी जीवनको अन्तिम समयसम्म पार्टी गतिविधिमा सक्रिय रहेको बताइन्छ। बिहीबार फागुन २८ गते पार्टी कार्यालयमा भएको छलफलमा सहभागी भइरहेका बेला उनी अचानक अस्वस्थ बनेका थिए। पार्टीका नेताहरूबीच अनौपचारिक कुराकानी भइरहेका बेला उनले पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिनुपर्ने र ‘एक मुठी सास रहुन्जेल एमालेका लागि लागिरहने’ बताएका थिए। त्यसको केही समयपछि उनलाई हृदयघात भएको थियो । पार्टी कार्यालयबाट ९ मिनेटभित्रै मणिपाल अस्पताल पुर्याउँदा चिकित्सकले भने उनको सास नरहेको घोषणा गरेका थिए ।

सम्बन्धित खबर
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने
कहिले हुन्छ प्रतिनिधिसभाको बैठक आह्वान ?
सुशीला कार्की कहिलेसम्म प्रधानमन्त्री ?
दिपक मनाङे कारागारबाट रिहा
यो पनि पढौँ
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते