पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।
यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् ।
वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले बताए ।
यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एप मार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउनेछन् । जसको सबैभन्दा बढी भोट आउँछ उ विजेता हुनेछ । मनोनयनमा परेका खेलाडीहरूका लागि सोमबारबाट भोटिङ सुरु भएको छ ।
आफूलाई मन परेको खेलाडीलाई खल्ती एप मार्फत भोटिङ गर्न सकिने छ भने आज सोमबारबाट शुरु भएको भोटिङ बैशाख १७ गते राती १२ बजे सम्म खुल्ला रहने छ । अवार्ड कार्यक्रम आगामी बैशाख १८ गते पोखरामा हुनेछ ।
सो अवसरमा बोल्दै पिपल्स च्वाइस अवार्डका प्रायोजक गुरुङ गहना घरका प्रालिका सञ्चालक सीमा गुरुङले खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने गरी आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा गुरुङ गहना घर जोडिन पाउँदा खुसी लागेको बताइन् । गुरुङले आफूले खेलाडीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत नेपाल खेलकुद पत्रकार मञ्चसँग मिलेर साथ र सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाइन् । यो विधाको विजेतालई टीभीएस एनट्रक स्कुटर प्रदान गरिनेछ ।
त्यस्तै आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेतले मनोनयनमा परेका खेलाडीहरूलाई खल्ती एप मार्फत भोटिङका लागि आजैदेखि भोटिङ खुल्ला गरिएको बताए । खेलकुदको क्षेत्रमा प्रदेशमै ठूलो कार्यक्रम आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्च सँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको उनको भनाइ रहेको थियो । मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य विनय थापाले पनि बोलेका थिए ।
पोखरा स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल सङ्घसंस्था अवार्ड गरी आठ विद्यामा अवार्ड प्रदान गरिदैछ । उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका, गुरुङ गहना घर प्रालि, आइएमई खल्ती लिमिटेड लगायतको सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु