स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

वैशाखदेखि राजमार्गमा कडाइ:

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

जथाभावी पार्किङ रोकिने

Parking-is-being-organized-on-Siddhartha-Highway-1775789854

स्याङ्जाको पुतलीबजारसहित सिद्धार्थ राजमार्ग क्षेत्रमा सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू हुने भएको छ । सरोकारवालाबीच भएको छलफलपछि वैशाख १ गतेदेखि लागू हुने गरी पार्किङ व्यवस्थापन कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा भएको निर्णयअनुसार तोकिएको स्थानबाहेक अन्यत्र सवारी पार्किङ गर्न नपाइने भएको छ । जिल्ला सदरमुकाम पुतलीबजार क्षेत्रमा मुख्य सडकमा कुनै पनि सवारी पार्किङ गर्न नपाइने र सार्वजनिक सवारी साधनलाई अनिवार्य रूपमा बसपार्कमै राख्नुपर्ने व्यवस्था गरिएको छ ।

मुख्य राजमार्गमा जथाभावी पार्किङका कारण बढ्दै गएको जोखिम र दुर्घटनालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने फेदीखोला गाउँपालिका, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिका क्षेत्रका बजारमा अब पार्किङ र यात्रु चढाउने–ओराल्ने कामका लागि निश्चित स्थान तोकिने छन् ।

पिकअप तथा साना सार्वजनिक सवारीका लागि पुतलीबजार–१ स्थित बसपार्कको तल्लो भागको खुला स्थान छुट्याइएको छ भने ट्याक्सीहरूलाई ट्याक्सी चोकदेखि चापको रुख जाने भित्री सडकमा सीमित संख्यामा मात्र राख्न पाइनेछ । अन्य ट्याक्सीले भने बसपार्कमै पार्किङ गर्नुपर्नेछ ।

यात्रु चढाउने र ओराल्ने स्थानसमेत तोकिएको छ । पुतलीबजार–३ को बाडखोलाचोक, प्रगतिनगर जाने चोक, घुम्तीचोक, ट्याक्सी चोक र राङ्खोला क्षेत्रलाई यसका लागि प्रयोग गरिने जनाइएको छ ।

राजमार्गका अन्य बजार क्षेत्रमा भने सम्बन्धित स्थानीय तह र ट्राफिक प्रहरीको समन्वयमा उपयुक्त स्थान पहिचान गरी प्रशासनलाई जानकारी गराउने जिम्मेवारी दिइएको छ ।

यसका साथै मोटरसाइकल पार्किङ भित्री सडकमा मात्र गर्नुपर्ने, फुटपाथमा पसल राख्न वा निर्माण सामग्री थुपार्न नपाइने व्यवस्था गरिएको छ । निर्णय कार्यान्वयनमा अटेर गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ