उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि

आज विज्ञान र भोलि व्यवस्थापनका विद्यार्थीलाई स्वागत

उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि

नयाँ विद्यार्थीलाई भव्य स्वागत

Prati 1st

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि शनिबार स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) उतीर्ण गरी प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरेको हो । विद्यालयले शनिबार विज्ञान विषयका विद्यार्थीलाई स्वागत गरेको छ । यस्तै, आइतबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीलाई स्वागत कार्यक्रम राखेको प्राचार्य किरण सापकोटाले जानकारी दिए ।

यस वर्ष उच्चतम् ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थीले प्रतिभा रोजेका छन् । नेपालकै एक उत्कृष्ट विद्यालयका रूपमा स्थापित प्रतिभाले यो आकर्षणलाई गौरवका रुपमा लिएको प्राचार्य सापकोटाले बताए ।

पोखरा सभागृहमा बृहत् रूपमा आयोजित स्वागत कार्यक्रममा प्रमुख अतिथि नेपाल मणिपाल शिक्षण अस्पतालका उपप्राचार्य प्रा.डा. जय बहादुर खत्रीले पोखराको शिक्षा क्षेत्रलाई प्रतिभाले परिचित बनाएको बताए । ‘विद्यार्थी सफल हुनका लागि उनीहरूमा मेहनत जरुरी छ । विद्यार्थीले मेहनतका साथ अध्ययन गर्ने हो भने लक्ष्यमा पुग्न सहज हुन्छ’ डा. खत्रीले भने, ‘गन्तव्य पहिचान गरेर मात्र अध्ययन सुरु गर्नु अनिवार्य छ, अनि मात्र भविश्य उज्ज्वल हुन्छ ।’

अनुशासन नै विद्यार्थीको पहिलो शर्त भएको भन्दै डा. खत्रीले कक्षा ११ र १२ को दुई वर्षको समयावधि जीवनको महत्वपूर्ण समय भएकाले यो बेला बाटो बिगारेमा जिन्दगीको लय बिग्रने बताए । उनले गुरुहरू जीवनको पथ प्रदर्शक भएकाले आदर सम्मान गर्नुपर्ने बताए ।

प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले समयक्रमसँगै प्रतिभाले राष्ट्रिय स्तरमा ख्याती कमाउँदै गएकोमा प्रशन्नता व्यक्त गरे । विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन र अभिभावकको आपसी समन्वयात्मक वातावरणले यो उपलब्धि हाँसिल गरेको उनले बताए । विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने उनको भनाई छ । समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए । ‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ । आगामी दिनमा ती प्रतिभा अझै थपिनेछन’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौं ।’

विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीले देखेको सपना पूरा गर्नका लागि विद्यालय सदैव तयार रहेको बताए । विद्यार्थीले आफूले आफूमा भएको क्षमता पहिचान गर्न नसक्दा कहिलेकाहिँ समस्या हुने गरेको उनले बताए । ‘सपना जबर्जस्त देख्नू । मेहनत अनिवार्य छ । स्मार्ट हाडवर्क गर्नुपर्छ । दुई वर्ष दुःख गरे जिन्दगीभर सुख पाइन्छ ।’ सापकोटाले भने । आफ्नो जात, धर्म, आर्थिक अवस्था, सामाजिक हिसाबले प्रगतिको सपना देख्नबाट नरोकिन विद्यार्थीलाई सुझाव पनि उनले दिए ।

प्राचार्य सापकोटाले प्रतिभा माविले विद्यार्थीलाई संस्कारसहितको शिक्षा दिने बताए । ‘प्रतिभा माविले किताबी ज्ञान मात्र दिँदैन, व्यक्ति र व्यक्तित्व निर्माण गर्न सघाउँछ, त्यसैको प्रमाण हो– विद्यालयले देशभित्र मात्र नभई विदेशमा पनि पहिचान बनाउन सक्नू ।’ उनले भने ।

कार्यक्रममा एसइईमा चार जीपीए ल्याएर प्रतिभामा भर्ना भएका २८ विद्यार्थी, तिनका अभिभावक र विद्यालयका प्राचार्यलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सहप्राचार्य प्रदीप खनालले गरेका थिए ।

कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश दूतराज र उनका नयाँ ब्याण्डले आफ्ना हिट गीत प्रस्तुत गरे । विद्यार्थीहरुले पनि आफ्ना प्रस्तुति राखेका थिए । प्रतिभामा यो वर्ष सिट क्षमता अनुसार विज्ञान संकायमा ३९६ जना, व्यवस्थापन संकायमा ३९६ जना र होटल व्यवस्थापनतर्फ ८८ जना गरी कूल ८८० जना भर्ना भएका छन् । हजारौंले प्रवेश परीक्षा दिएकोमा उत्कृष्टता र जीपीएको आधारमा भर्ना लिइएको प्राचार्य सापकोटाले बताए ।

प्रतिभामा मन्टेश्वरीदेखि १२ कक्षासम्म करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । शैक्षिक नतिजा सँगसँगै खेलकुदमा पनि प्रतिभाले उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ । विद्यालयले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान पनि गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

मन्दिप केसी

मन्दिप केसी

केसी गण्डकन्यूजका फोटो जर्नालिस्ट हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds