जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्

अपराध

जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्

gulmi-crim-1

गुल्मीको इस्मा गाउँपालिका वडा नं ५ का ४१ वर्षिय यामबहादुर कुमालले केहीवर्षकाे अन्तरालमा दुई श्रीमतीको हत्या गरेका छन् । उनका चार छोराछोरीको बिचल्ली भएको छ ।

पहिलो श्रीमतीको हत्या गरेर जेल गएका उनी संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैदमिनाह भएर बाहिर आएका थिए । अहिले कान्छीको हत्या गरेर फेरि जेल जाने भएका छन् ।

यामबहादुरका पहिलो श्रीमतीतर्फ २ छोरी र १ छोरा तथा दोस्रो श्रीमतीतर्फ १ छोरा गरी चार जना सन्तान छन् । दुवैतर्फका बच्चाको आमाहरू मारिएको र बुवा यामबहादुर पुनः जेल जाने भएपछि उनीहरूको बिचल्ली हुने स्थानीयको भनाइ छ ।

इस्मा ५ का वडाध्यक्ष झविन्द्र अर्यालका अनुसार मङ्गलवार दिउँसो यामबहादुरले श्रीमतीलाई दिउँसो पनि कुटपिट गरेको स्थानीयले सुनाएका थिए । तर राती पुनः कुटपिट गरी मारेर छिमेकीको घरछेउमा फालिएको अवस्थामा बुधबार बिहान भेटिएपछि प्रहरीलाई बोलाइएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षिय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षिया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पटले प्रहार गरेर हत्या गरेका हुन् ।

कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत भएकी मुनालाई सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धनार्जेबाट खटिएको टोलीले उद्धार गरेको थियो । उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याएको तर उपचारकै क्रममा बुधवार नै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न यमबहादुर कुमाललाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा अनुसन्धान टोली खटाइएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै घलेले पहिलो श्रीमती हत्या गरेर जेल गएका यामबहादुर संविधान दिवसको अवसरमा कैद मिनाह भएर बाहिर आएको र हिजो राती कान्छी श्रीमतीको हत्या गरेको जनाएका छन् ।

‘यामबहादुर पहिलो श्रीमती हत्या गरेर जेल गएको, कैद मिनाहपछि बाहिर आएको र हिजो कान्छी श्रीमतीको पनि हत्या गरेको खुलेको छ । सबै मिति अझै स्पष्ट भएको छैन । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अभि बढाएका छौँ ।’

वडा नं ५ का अध्यक्ष अर्यालका अनुसार हिजो राती भएको उनले श्रीमतीलाई मारेर छिमेकी भोजराज भण्डारीको घर पछाडिको कुर्सुलोमा फालेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ