स्याङ्जाको फेदीखोला गाउँपालिकाले दोस्रो राष्ट्रिय कोदो दिवस विविध कार्यक्रमका साथ मनाएको छ । ‘कोदोबाली संरक्षण र प्रवर्द्धन : खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने राष्ट्रिय नारासहित वडा नं. २ बहाँटारीमा शनिबार दिवस आयोजना गरिएको हो ।
दिवसका अवसरमा परम्परागत शैलीमा हलगोरु प्रयोग गरी कोदो रोपाइँ गरिएको थियो । असारे रोपाइँ गीतसँगै गरिएको रोपाइँले स्थानीय कृषि संस्कृतिलाई समेत झल्काएको थियो ।
कार्यक्रममा कोदोबाट तयार गरिएका विभिन्न परिकारको प्रदर्शनीसमेत गरिएको थियो । कोदोको पकौडा, सेलरोटी, ढिँडो, मःम, पुवा, बिस्कुट, जेरी, फुरौला, खुर्मा, पुरी, तावा रोटी, सुप, अचार, खोले, कपकेकलगायतका परिकार सहभागीलाई स्वाद चखाइएको थियो ।
कार्यक्रममा सहभागीहरुले कोदोको उत्पादन र उपभोग बढाउने गाउँपालिकाको अभियानको प्रशंसा गरे । उनीहरूले स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनमा फेदीखोला गाउँपालिकाले थालेका कार्यक्रम देशकै लागि अनुकरणीय रहेको बताए ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कोदो खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउन, बाँझो जमिनको उपयोग गर्न र वातावरण संरक्षणमा योगदान दिने बताए । उनले किसानको आवश्यकता र मागका आधारमा सञ्चालन गरिएका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७६ देखि उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, बाँझो जमिनमा खेती गर्न प्रोत्साहन, कृषि एम्बुलेन्स, कृषि उपज सङ्कलन केन्द्र, शीतभण्डार, बजारीकरणमा सहयोग तथा कृषि मेला आयोजना गर्दै आएको छ । यी कार्यक्रमले कृषकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ थियो ।
गाउँपालिकाले गत आर्थिक वर्षदेखि गाउँपालिकाभित्रका सबै विद्यालय तथा मातहतका कार्यालयमा साताको एक दिन दिवा खाजामा कोदोबाट बनेका परिकार समावेश गर्ने नीति लागू गरेको पनि अध्यक्ष सुवेदीले जानकारी दिए । यसले स्थानीय उत्पादनको खपत बढ्नुका साथै बालबालिकामा पोषणयुक्त खानाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
फेदीखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ६ को ‘हाम्रो फेदीखोला’ पुस्तकमा ‘कोदो : बहुउपयोगी खाद्यान्न’ शीर्षक समावेश गरी २०७७ सालदेखि अध्ययन–अध्यापन गराउँदै आएको छ ।
दिवसका अवसरमा गाउँपालिका अध्यक्ष सुवेदीले राममन्दिर कृषक समूहलाई कोदो भित्र्याउने क्रममा हुने श्रम, समय र लागत घटाउन कोदो थ्रेसर उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे । थ्रेसर प्रयोगबाट कोदो सफाइ, भण्डारण र दानाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !