स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

Artificial insemination is being performed-1 (1)

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान गराउने किसानको संख्या वर्षेनि बढ्दै गएको छ । नश्ल सुधार, लागत कम हुने तथा राँगा र गोरु पाल्ने किसानको संख्या घट्दै गएपछि पशुपालक कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा कृत्रिम गर्भाधान सेवा दिँदै आएको छ । कार्यालयका प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा धेरै भैँसीमा कृत्रिम गर्भाधान गरिँदै आएको छ । त्यसपछि गाई, बाख्रा र बङ्गुरमा समेत यो सेवा विस्तार भएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ६ हजार ६९५ पशुमा कृत्रिम गर्भाधान गरिएको कार्यालयको तथ्यांक छ । त्यसमध्ये ५ हजार ३३० भैँसी, एक हजार २१८ गाई, ९७ बाख्रा र ५१ बङ्गुर रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ५ हजार ४० पशुमा कृत्रिम गर्भाधान गरिएको थियो । त्यस वर्ष ३ हजार ८२८ भैँसी, एक हजार १८ गाई, ११६ बाख्रा र १५ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ८४० पशुमा कृत्रिम गर्भाधान भएको थियो । त्यस वर्ष २ हजार ६७७ भैँसी, एक हजार १२२ गाई र ४१ बाख्रामा यो सेवा दिइएको डा. श्रेष्ठले बताए ।

यसरी तीन वर्षको तथ्यांक हेर्दा स्याङ्जामा कृत्रिम गर्भाधानको सेवा लिने पशुको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ । विशेषगरी पछिल्लो एक वर्षमा अघिल्लो वर्षको तुलनामा एक हजार ६५५ पशु बढीमा कृत्रिम गर्भाधान गरिएको छ ।

आँधीखोलामा सबैभन्दा धेरै
स्थानीय तहअनुसार हेर्दा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै कृत्रिम गर्भाधान आँधीखोला गाउँपालिकामा एक हजार ७९४ पशुमा गरिएको छ । सबैभन्दा कम भने बिरुवा गाउँपालिकामा ५६ पशुमा गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै गल्याङ नगरपालिकामा एक हजार १२७, वालिङ नगरपालिकामा ८१३, पुतलीबजार नगरपालिकामा ७७७, अर्जुनचौपारी गाउँपालिकामा ७५४, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयअन्तर्गत ५२३, भीरकोट नगरपालिकामा ४०४, चापाकोट नगरपालिकामा १५२, फेदीखोला गाउँपालिकामा ११५, हरिनास गाउँपालिकामा ९५ र कालीगण्डकी गाउँपालिकामा ८५ पशुमा कृत्रिम गर्भाधान गरिएको छ ।

कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा पशुपालक किसानलाई लक्षित गरी सेवा सञ्चालन भइरहेको छ । स्थानीय तहसँग समन्वय गरेर किसानको मागअनुसार कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउने गरिएको कार्यालय प्रमुख डा. श्रेष्ठले बताए ।

नश्ल सुधारसँगै लागत पनि कम
कृत्रिम गर्भाधानप्रति किसानको आकर्षण बढ्नुमा पशुको नश्ल सुधार प्रमुख कारण रहेको डा. श्रेष्ठ बताउँछन् । उन्नत नश्लका पशु उत्पादन गर्ने उद्देश्यले कृत्रिम गर्भाधान गराउँदा पशुपालनबाट उत्पादन बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

त्यस्तै राँगा तथा गोरु पाल्ने किसानको संख्या घट्दै जानु पनि कृत्रिम गर्भाधानको प्रयोग बढ्नुको अर्को कारण हो । पशुपालनको लागत र व्यवस्थापनलाई ध्यानमा राख्दा किसानका लागि कृत्रिम गर्भाधान तुलनात्मक रूपमा सहज हुने गरेको कार्यालयले जनाएको छ ।

बङ्गुरमा भने स्याङ्जामा कृत्रिम गर्भाधान सेवा गत आर्थिक वर्षदेखि सुरु गरिएको हो । अन्य पशुमा यसअघि नै सेवा दिइँदै आएको भए पनि बङ्गुरमा भने नयाँ रूपमा सेवा विस्तार गरिएको डा. श्रेष्ठले जानकारी दिए ।

पशुमा कृत्रिम गर्भाधानको संख्या बढ्दै जानुले जिल्लामा पशुपालनलाई व्यावसायिक बनाउने किसानको रुचिसमेत बढिरहेको संकेत गरेको कार्यालयको बुझाइ छ । नश्ल सुधारमार्फत उत्पादन बढाउन सके पशुपालनबाट किसानको आम्दानी बढाउन पनि सहयोग पुग्ने देखिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ