स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा बिहानदेखि बेलुकासम्म एउटी महिलाको दिनचर्या निकै व्यस्त हुन्छ । कसैलाई विद्यालय पठाउने हतारो हुन्छ, कसैको स्वास्थ्यको ख्याल गर्नुपर्छ, कसैको गृहकार्य हेर्नुपर्छ त कसैलाई सम्झाइबुझाइ गर्नुपर्छ । उनी हुन्– अमोर बालगृहकी व्यवस्थापक कमला पराजुली ।
आफ्नै कोखबाट ४४ सन्तान नजन्मिए पनि आज उनी त्यत्तिकै बालबालिकाकी आमा बनेकी छन् । विभिन्न कारणले परिवारबाट टाढिएका, सहाराविहीन बनेका र सडकसम्म पुग्न बाध्य भएका बालबालिकालाई उनले आमाको माया, संरक्षण र भरोसा दिँदै आएकी छन् ।
पश्चिम नेपालको रैथाने देउडा भाका अचेल फेदीखोलामा पनि घन्किन्छ । देशका फरक–फरक भूगोल र संस्कृतिबाट आएका बालबालिका एउटै परिवारजस्तै बनेका छन् । कसैको भाषा फरक छ, कसैको संस्कृति फरक छ, तर अमोर बालगृहले उनीहरूलाई एउटै घर र एउटै परिवारको सम्बन्धमा बाँधेको छ ।
वि.सं. २०६८ सालमा स्थापना भएको अमोर बालगृह २०७२ सालदेखि सञ्चालनमा आएको हो । स्याङ्जामात्र होइन, पर्वत, पाल्पा, कास्की, दाङ, रुकुम र मुगुसम्मका अनाथ तथा असहाय बालबालिकाले यहाँ आश्रय पाउँदै आएका छन् ।
५० जना बालबालिका राख्ने क्षमता रहेको बालगृहमा अहिले ४४ जना बालबालिका छन् । विभिन्न पारिवारिक समस्या, गरिबी र सामाजिक परिस्थितिका कारण सडकमा पुग्न बाध्य भएका बालबालिकाले यहाँ सुरक्षित बसोबास, खानपान र शिक्षाको अवसर पाएका छन् ।
तर, बालगृहको व्यवस्थापन केवल खाना र बस्ने व्यवस्था मिलाउनुमा सीमित छैन । प्रत्येक बालबालिकाको बानी, स्वभाव, स्वास्थ्य, शिक्षा र भावनासँग परिचित रहेर उनीहरूको हेरचाह गर्नु कमला पराजुलीको दैनिक जिम्मेवारी बनेको छ ।
कुनै बालबालिका बिरामी पर्दा अभिभावक बन्ने, कसैलाई पढाइमा हौसला दिने र कसैलाई पारिवारिक माया र साथको अनुभूति गराउने जिम्मेवारी उनले सम्हाल्दै आएकी छन् । त्यसैले बालगृहका बालबालिकाका लागि उनी व्यवस्थापकभन्दा बढी ‘आमा’ जस्तै बनेकी छन् ।
देशका विभिन्न स्थानमा गरिबी, पारिवारिक विखण्डन र अन्य सामाजिक समस्याका कारण अझै पनि धेरै बालबालिका सहाराविहीन बन्ने गरेका छन् । कतिपय बालबालिका सडकमा पुग्छन् भने कतिपय उचित संरक्षण नपाएर असुरक्षित वातावरणमा हुर्किन बाध्य छन् ।
यस्तो अवस्थामा अमोर बालगृहजस्ता संस्थाले केवल आश्रय मात्र दिएका छैनन्, बालबालिकालाई नयाँ जीवनको बाटो पनि देखाएका छन् । यहाँ आएका बालबालिकाले पढ्ने, खेल्ने, गीत गाउने र आफ्नै परिवारमा हुर्किएजस्तै वातावरण पाएका छन् ।
कमला पराजुलीका लागि पनि यो काम सामान्य जिम्मेवारी मात्र होइन । ४४ जना बालबालिकाको भविष्यसँग जोडिएको दायित्व हो । उनीहरूको मुस्कानमा आफ्नो खुसी र उनीहरूको भविष्यमा आफ्नो सपना देख्ने पराजुलीले बालबालिकालाई आत्मनिर्भर र सक्षम बनाउने लक्ष्यका साथ काम गरिरहेकी छन् ।
बालगृहमा रहेका बालबालिकाको जीवनमा परिवर्तन ल्याउनु नै आफ्नो मुख्य उद्देश्य रहेकोअमोर बालगृहकी व्यवस्थापक कमला पराजुलीको भनाइ छ । परिवारबाट टाढिएका र विभिन्न कारणले सहाराविहीन बनेका बालबालिकालाई सुरक्षित वातावरण दिनुका साथै उनीहरूको भविष्य निर्माणमा आफूहरू लागिरहेको उनले बताइन् ।
स्याङ्जालाई सडक बालबालिकामुक्त बनाउने अभियान पनि यस्तै प्रयासबाट सार्थक बन्दै गएको छ । तर, निजी तथा सामाजिक पहलबाट मात्र बालबालिकाको दीर्घकालीन संरक्षण सम्भव नहुने भएकाले यस्ता बालगृहलाई राज्यले स्पष्ट नीति र आवश्यक आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ ।
अमोर बालगृहको आँगनमा फरक जिल्लाबाट आएका ४४ बालबालिका अहिले एउटै परिवार बनेका छन् । र, त्यो परिवारको केन्द्रमा छिन्– आफ्नै सन्तानजस्तै उनीहरूको भविष्य सम्हालिरहेकी कमला पराजुली ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा