नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकार आफ्ना मागप्रति उदासीन बनेको आरोप लगाउँदै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कार्यालय बन्द गर्ने घोषणा गरेको छ। संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने जनाएको छ।
संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानका लागि दिइएको समयसीमा समेत सकिएपछि अब पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने संघले जनाएको हो।
संघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतले प्रक्रिया पूरा भइसकेका श्रमिकको उडानका लागि एक साताअघि नै सूचना जारी गरिएको बताए। उनका अनुसार आइतबार राति १२ बजेसम्म प्रक्रिया पूरा गरी उडानको तयारीमा रहेका श्रमिकलाई पठाइने भए पनि त्यसपछि भने भिसा र श्रम स्वीकृति आइसकेका श्रमिकको समेत उडान रोकिनेछ।
संघका अनुसार भोलिदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका सबै शाखा बन्द रहनेछन्। नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक कामसमेत ठप्प हुनेछन्।
संघले श्रम मन्त्रालयको टोलीसँग शुक्रबार प्रारम्भिक छलफल भए पनि व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको जनाएको छ। मन्त्रालयको टोलीसँग छलफल भए पनि मन्त्रीस्तरमा वार्ता नभएको र सरकारले व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको संघको आरोप छ।
महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ।
संघले आफ्ना मागको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने जनाएको छ। वार्ता र संवादका लागि भने ढोका खुला रहेको संघको भनाइ छ।
संघले आफ्ना सदस्य संस्थालाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न निर्देशनसमेत दिएको छ। संघको निर्णय अवज्ञा गरी काम सञ्चालन गर्ने संस्थाको अभिलेख राखी भविष्यमा संघबाट प्राप्त हुने सहयोग र संरक्षणबाट वञ्चित गरिने तथा आगामी समीक्षा भेलामार्फत कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
सम्बन्धित खबर
आइजिपी पदमुक्त प्रकरणमा सरकार र सत्तारूढ पार्टीको भनाइ बाझियो, पार्टीलाई थाहै छैन !
पदावधि बाँकी रहेका पदमुक्त आइजीपी कार्की कानुनी उपचार खोज्न छलफलमा
मनोज केसी बनाइए नयाँ प्रहरी महानिरीक्षक
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
चार घण्टा बसेको ‘फुलकोर्ट’का यस्ता छन् पाँच निर्णय
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा