लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग

सहायता

लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग

lions help

काठमाडौं — भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भीषण बाढीबाट रसुवा, नुवाकोट लगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लायन्स क्लबले राहत तथा उद्धारका लागि प्रारम्भिक चरणमा १ करोड सहयोग गर्ने निर्णय गरेका छन्।

लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट नेपालका चेयरपर्सन केशरबहादुर भण्डारीको नेतृत्वमा बसेको बैठकबाट बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले १ करोड प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको हो।

लायन्स मल्टिपल आईटी एण्ड फेलोसिप चेयरपर्सन तथा पूर्वगभर्नर चण्डीप्रसाद अर्यालले विपद्को यस कठिन समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताए। उनका अनुसार लायन्स सदस्यहरूबाट प्राप्त हुने सहयोगलाई व्यवस्थित रूपमा संकलन गरी सरकारसँग समन्वय गरेर अविलम्ब विशेष राहत कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।

भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा हुँदै आसपासका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको तथा प्रभावित नागरिकको जनजीवनमा गम्भीर असर परेको भन्दै लायन्सले तत्काल राहत उपलब्ध गराउन अग्रसरता देखाएको हो। प्राकृतिक विपत्तिका कारण घर, व्यवसाय, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेका पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग सहकार्य गर्ने लायन्सले जनाएको छ।

प्रारम्भिक सहयोगबाहेक देशभर रहेका लायन्स सदस्यहरूबाट समेत स्वस्फूर्त रूपमा थप आर्थिक तथा आवश्यक सामग्री संकलन गर्ने तयारी भइरहेको छ। संकलित सहयोगलाई प्रभावित क्षेत्रमा आवश्यकता पहिचान गरी नेपाल सरकार तथा सम्बन्धित निकायसँगको समन्वयमा प्रभावकारी रूपमा परिचालन गर्ने योजना लायन्सको रहेको छ।

अर्यालले विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन प्राथमिकता दिइने बताए। साथै, उद्धार तथा राहतका क्रममा स्थानीय तह, सुरक्षा निकाय र अन्य सामाजिक संघसंस्थासँग समेत सहकार्य गर्ने तयारी भइरहेको जानकारी दिए।

लायन्सले विपद्को समयमा मानवीय सेवामा आफ्नो भूमिका अझ प्रभावकारी बनाउँदै प्रभावित नागरिकलाई आवश्यक सहयोग र सहारा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था र पीडितको आवश्यकताका आधारमा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने लायन्सले जनाएको छ। यसबाट तत्काल राहतसँगै विपद्पछिको पुनःस्थापना र प्रभावित समुदायको दैनिकी सामान्य बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ