स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भूपराज वस्तीमाथि मोविल छ्यापिएको घटनालाई लिएर नेकपा एमाले स्याङ्जाले कुटपिट तथा पेट्रोल छर्केर आगो लगाउने प्रयाससमेत भएको आरोप लगाएको छ ।
यता स्याङ्जा प्रहरीले भने प्रारम्भिक अनुसन्धानमा अपरिचित व्यक्तिहरूले वडा अध्यक्षको शरीरमा मोविल छ्यापेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार मंगलबार चापाकोट–१ स्थित वडा कार्यालयमा वडा अध्यक्ष वस्तीमाथि अपरिचित व्यक्तिहरूले मोविल छ्यापेका थिए ।
उनका अनुसार आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट विनियोजनका क्रममा गाउँ, बस्ती तथा टोल भेला नगरी सार्वजनिक महत्वका विषयमा एकलौटी ढंगले काम गरेको र नगर कार्यपालिकामा योजना पेस गरेको भन्दै घटना भएको प्रारम्भिक जानकारी आएको छ ।
घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको र मोविल छ्याप्ने व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको डीएसपी अवस्थीले बताए ।
यता नेकपा एमाले स्याङ्जाले भने वडा अध्यक्ष वस्तीमाथि कुटपिट गर्नुका साथै पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको आरोप लगाएको छ । एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे ‘पारस’ले जारी गरेको विज्ञप्तिमा वडा अध्यक्ष वोस्ती वडावासीको दैनिक सेवाका लागि वडा कार्यालय जाँदै गर्दा कार्यालयकै अगाडि जम्मा भएका चार–पाँच जनाको समूहले उनीमाथि आक्रमण गरेको थियो ।
विज्ञप्तिमा वडा कार्यालयको अगाडि चार–पाँच जनाको समूहले वडा अध्यक्षमाथि पटक–पटक मुक्का प्रहार गरी कुटपिट गरेको र पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको दाबी गरिएको छ ।
एमालेले घटनामा चापाकोट–१ का सन्तोष राना, सन्तोष थापा र मुक्तबहादुर थापालगायत संलग्न रहेको आरोप लगाउँदै उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न प्रहरी तथा प्रशासनसँग माग गरेको छ । एमालेले घटनाको निन्दा तथा भर्त्सना गरेको छ ।
कसैको सहयोगमा भीडबाट उम्कन सफल भएका वडा अध्यक्ष वोस्ती अहिले उपचाररत रहेको एमाले स्याङ्जाले जनाएको छ ।
यसअघि वडा अध्यक्ष वस्तीमाथि मोसो छ्यापिएको भनिएको विषयमा पनि विवाद भएको थियो । वडाका विभिन्न विषयमा सार्वजनिक सुनुवाइ गर्ने सहमति कार्यान्वयन नभएको भन्दै केही युवाले अध्यक्षमाथि मोसो छ्यापेको बताइएको थियो ।
घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार हालसम्म मोविल छ्याप्ने व्यक्तिको पहिचान तथा पक्राउसम्बन्धी प्रक्रिया जारी रहेको छ ।
आठ मतले निर्वाचित भएका थिए वस्ती
वस्ती गत स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका लोकबहादुर आलेलाई आठ मतले पराजित गरेका थिए ।
निर्वाचनमा वस्तीले पाँच सय ६८ मत प्राप्त गर्दा आलेले पाँच सय ६० मत पाएका थिए ।
प्रहरीले घटनाको वास्तविक कारण तथा संलग्न व्यक्तिबारे अनुसन्धानपछि थप विवरण खुल्ने जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला