सामाजिक सञ्जालमा अशिष्ट शब्द लेख्नेको स्क्रिनसट उसकै घरमा पठाइने

नयाँ अभियान

सामाजिक सञ्जालमा अशिष्ट शब्द लेख्नेको स्क्रिनसट उसकै घरमा पठाइने

social-media

नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा अशिष्ट र अपाच्य शब्द कमेन्ट गर्नेकै घरमा स्क्रिनसट समेटिएको पुस्तक पठाउने भएको छ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेका नेताहरूले ८० प्रतिशत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा अशिष्ट, अपाच्य शब्द लेख्ने र कमेन्ट गर्ने गरेको बताए। उनीहरूले त्यसको स्क्रिनसट संकलन गरेर पुस्तक बनाउने र कमेन्ट गर्नेकै घरमा पठाइदिने बताएका छन्।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले गालीगलौज, समाजले पचाउन नसक्ने अपशब्दको स्क्रिनसटलाई पुस्तक बनाएर पार्टीले सञ्चालन गरिरहेको जागरण अभियानमा लगेर पर्दाफास गर्ने र कमेन्ट गर्नेको घरमा पुस्तक पठाएर उनको घरपरिवारलाई देखाउने बताए।

सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्र हत्या गर्ने, अशिष्ट अभिव्यक्ति तथा समाजमा घृणा र द्वैष फैलाउने गतिविधिमाथि प्रहरीले तीव्रगतिमा कारबाही गर्न नसकेको एमाले नेताहरुको टिप्पणी रहेको छ।

एमालेले भनेको छ, ‘सामाजिक सञ्जालमा लेखिएको एउटा शब्द केवल एउटा व्यक्तिसम्म सीमित रहँदैन। त्यसलाई हजारौं मानिसले पढ्छन्, साझा गर्छन् र त्यसको अनुशरणसमेत गर्छन्। विशेषगरी युवापुस्ताले राजनीतिक बहसको भाषा नै यही हो भन्ने बुझ्न थाल्यो भने समाजमा असहमतिको सम्मान गर्ने संस्कार कमजोर हुँदै जान्छ। जनताले प्रश्न गर्न पाउँछन्। आलोचना गर्न पाउँछन् र सरकार तथा राजनीतिक दललाई जवाफदेही बनाउन पाउँछन्। जनताले प्रश्न गर्दा त्यसको जवाफ गाली, धम्की वा व्यक्तिगत आक्रमणबाट होइन, तथ्य, तर्क र जिम्मेवार राजनीतिक व्यवहारबाट दिनुपर्छ।’

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सूर्य ढकाल, लेखा आयोग सदस्य विजया धिताल, जिल्ला उपसचिवद्वय किशोर थापा र निर्मला सुनार लगायतको उपस्थिति थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ