तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा

प्रजनन स्वास्थ्य:

तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा

२० वर्षमुनिका १०९ किशोरी

abortion-pic-symbolic

स्याङ्जामा पछिल्ला तीन आर्थिक वर्षमा २ हजार ९१० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये २० वर्ष नपुगेका १०९ जना छन् । पछिल्लो वर्ष किशोरीले सुरक्षित गर्भपतन सेवा लिने संख्या केही घटे पनि किशोरावस्थामै गर्भधारण हुने अवस्था भने अझै अन्त्य भएको छैन ।

प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १ हजार ४० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । २०८१/८२ मा यो संख्या घटेर ९६५ र २०८२/८३ मा ९०५ पुगेको छ ।

तीन वर्षको तथ्यांक हेर्दा २० वर्षमुनिका सेवाग्राहीको संख्या भने क्रमशः स्थिर रूपमा घटेको छैन । २०८०/८१ मा ३७ जना किशोरीले सेवा लिएकोमा २०८१/८२ मा बढेर ४२ पुगेको थियो । गत आर्थिक वर्षमा भने यो संख्या घटेर ३० मा झरेको छ ।

तीन वर्षमा सेवा लिने २ हजार ९१० जनामध्ये २ हजार ८०१ जना २० वर्षभन्दा माथिका छन् ।

औषधिबाटै सेवा लिने धेरै
आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका ३७ जनामध्ये ३० जनाले औषधिबाट र सात जनाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन सेवा लिएका थिए । २० वर्षभन्दा माथिका ९२० जनाले औषधिबाट र ८३ जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए ।

२०८१/८२ मा २० वर्षमुनिका ४२ जनामध्ये २७ जनाले औषधिबाट र १५ जनाले शल्यक्रियामार्फत सेवा लिए । २० वर्षभन्दा माथिका ८४७ जनाले औषधिबाट र ७६ जनाले शल्यक्रियाबाट सेवा लिएका थिए ।

गत आर्थिक वर्ष २०८२/८३ मा २० वर्षमुनिका ३० जनामध्ये २८ जनाले औषधिबाट र दुई जनाले शल्यक्रियामार्फत सेवा लिए । २० वर्षभन्दा माथिका ८७५ जनामध्ये ७८७ जनाले औषधिबाट र ८८ जनाले शल्यक्रियामार्फत सेवा लिएका छन् ।

वालिङमा सबैभन्दा धेरै
जिल्लाका ११ स्थानीय तहमध्ये तीनै आर्थिक वर्षमा सबैभन्दा धेरै सुरक्षित गर्भपतन सेवा लिनेको संख्या वालिङ नगरपालिकामा रहेको छ ।

वालिङमा २०८०/८१ मा ३२० जनाले सेवा लिएका थिए । त्यसमध्ये २० वर्षमुनिका १२ जना थिए । किशोरीमध्ये १० जनाले औषधिबाट र दुई जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए । २० वर्षभन्दा माथिका ३०८ जनामध्ये २४६ जनाले औषधिबाट र ६२ जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए ।

२०८१/८२ मा वालिङमा सेवा लिनेको संख्या बढेर ३९७ पुगेको थियो । त्यसमध्ये २० वर्षमुनिका २४ जना थिए । १० जनाले औषधिबाट र १४ जनाले शल्यक्रियामार्फत सेवा लिए । २० वर्षभन्दा माथिका ३७३ जनामध्ये ३३० जनाले औषधिबाट र ४३ जनाले शल्यक्रियाबाट सेवा लिएका थिए ।

गत वर्ष वालिङमा ४०८ जनाले सेवा लिए । तीमध्ये २० वर्षमुनिका १५ जना छन् । १४ जनाले औषधिबाट र एक जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए । २० वर्षभन्दा माथिका ३९३ जनामध्ये ३३२ जनाले औषधिबाट र ६१ जनाले शल्यक्रियामार्फत सेवा लिएका छन् ।

पुतलीबजारमा घट्दै
पुतलीबजार नगरपालिकामा भने सुरक्षित गर्भपतन सेवा लिनेको संख्या तीन वर्षमा घटेको छ ।

२०८०/८१ मा २०३ जनाले सेवा लिएकोमा सात जना २० वर्षमुनिका थिए । तीमध्ये दुई जनाले औषधिबाट र पाँच जनाले शल्यक्रियाबाट सेवा लिएका थिए । २० वर्षभन्दा माथिका १९६ जनामध्ये १७५ जनाले औषधिबाट र २१ जनाले शल्यक्रियामार्फत सेवा लिए ।

२०८१/८२ मा पुतलीबजारमा १८८ जनाले सेवा लिए । त्यसमध्ये २० वर्षमुनिका एक जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए । २० वर्षभन्दा माथिका १८७ जनामध्ये १६० जनाले औषधिबाट र २७ जनाले शल्यक्रियामार्फत सेवा लिए ।

गत वर्ष भने सेवा लिनेको संख्या १३० मा झरेको छ । तीमध्ये २० वर्षमुनिका तीन जना रहेका छन् । दुई जनाले औषधि र एक जनाले शल्यक्रियामार्फत सेवा लिएका छन् । २० वर्षभन्दा माथिका १२७ जनामध्ये १०२ जनाले औषधिबाट र २५ जनाले शल्यक्रियामार्फत सेवा लिएका छन् ।

फेदीखोला गाउँपालिकामा २०८०/८१ मा दुई जनाले सेवा लिएका थिए । दुवै २० वर्षभन्दा माथिका थिए र औषधिबाट सेवा लिएका थिए । त्यसपछिका दुई आर्थिक वर्षमा फेदीखोलाबाट सेवा लिएको संख्या शून्य छ ।

आँधीखोला गाउँपालिकामा २०८०/८१ मा ३४ जनाले सेवा लिएकोमा चार जना २० वर्षमुनिका थिए । २०८१/८२ मा १९ र २०८२/८३ मा ३९ जनाले सेवा लिएका छन् । पछिल्ला दुई वर्षमा सेवा लिने सबै २० वर्षभन्दा माथिका छन् ।

अर्जुनचौपारी गाउँपालिकामा २०८०/८१ मा ५६ जनाले सेवा लिएकोमा एक जना २० वर्षमुनिका थिए । २०८१/८२ मा ६३ जनामध्ये एक जना र गत वर्ष ४३ जनामध्ये तीन जना २० वर्षमुनिका छन् ।

भीरकोट नगरपालिकामा २०८०/८१ मा ८३ जनाले सेवा लिएकोमा एक जना २० वर्षमुनिका थिए । २०८१/८२ मा ७३ जनामध्ये पाँच जना र गत वर्ष ६१ जनामध्ये दुई जना २० वर्षमुनिका छन् ।

बिरुवा गाउँपालिकामा २०८०/८१ मा सात जनाले सेवा लिएकोमा एक जना २० वर्षमुनिका थिए । २०८१/८२ मा १३ र गत वर्ष सात जनाले सेवा लिएका छन् । यी पछिल्ला दुवै वर्ष सेवा लिने सबै २० वर्षभन्दा माथिका छन् ।

हरिनास गाउँपालिकामा २०८०/८१ मा १५५ जनाले सेवा लिएकोमा दुई जना २० वर्षमुनिका थिए । २०८१/८२ मा ५१ जनामध्ये चार जना र गत वर्ष ५१ जनामध्ये तीन जना २० वर्षमुनिका छन् ।

चापाकोट नगरपालिकामा २०८०/८१ मा ९२ जनामध्ये चार जना २० वर्षमुनिका थिए । २०८१/८२ मा ६१ जनामध्ये पाँच जना र गत वर्ष ८० जनामध्ये तीन जना २० वर्षमुनिका छन् ।

गल्याङ नगरपालिकामा २०८०/८१ मा ४५ जनाले सेवा लिएकोमा एक जना २० वर्षमुनिका थिए । २०८१/८२ मा सेवा लिएका ५३ जना सबै २० वर्षभन्दा माथिका थिए । गत वर्ष ५४ जनाले सेवा लिएकोमा एक जना २० वर्षमुनिका छन् ।

कालीगण्डकी गाउँपालिकामा २०८०/८१ मा ४३ जनामध्ये चार जना २० वर्षमुनिका थिए । २०८१/८२ मा ४७ जनामध्ये दुई जना २० वर्षमुनिका थिए । गत वर्ष ३२ जनाले सेवा लिएकोमा सबै २० वर्षभन्दा माथिका छन् ।

किशोरीको तथ्यांकलाई बालविवाहसँगै जोड्न मिल्दैन : भट्ट
नेपालको कानुनले विवाहका लागि २० वर्ष उमेर तोकेको छ । २० वर्ष पूरा नगरी विवाह गर्न कानुनी बन्देज भए पनि २० वर्ष नपुग्दै गर्भधारण गरी सुरक्षित गर्भपतन सेवा लिनुपर्ने अवस्था भने तथ्यांकमा देखिएको छ ।

तर प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका तथ्यांक अधिकृत विनोदप्रसाद भट्ट उपलब्ध तथ्यांकलाई मात्रै आधार बनाएर यसलाई बालविवाहसँग जोडेर निष्कर्ष निकाल्न नमिल्ने बताउँछन् ।

उनका अनुसार तथ्यांक सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन अनुमति प्राप्त स्वास्थ्य संस्थाबाट संकलन गरिएको हो । सेवा लिनेको संख्या देखिए पनि गर्भधारणको कारण, विवाहको अवस्था, परिवार नियोजनको पहुँच तथा किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानलगायत पक्षलाई पनि सँगसँगै हेर्नुपर्छ ।

‘गर्भपतन सेवाको तथ्यांकले सेवा लिनेको संख्या देखाउँछ,’ भट्टले भने, ‘यसको पछाडि गर्भधारणको कारण, विवाहको अवस्था, परिवार नियोजनको पहुँच र किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानजस्ता विषयलाई पनि सँगसँगै हेर्नुपर्छ ।’

उनले उपलब्ध तथ्यांकका आधारमा मात्रै निष्कर्ष निकाल्नुभन्दा गर्भधारण कुन परिस्थितिमा भयो, गर्भपतन गर्नुपर्ने अवस्था किन आयो र स्वास्थ्य सेवामा पहुँच कस्तो थियो भन्नेबारे थप अध्ययन आवश्यक रहेको बताए ।

कलिलो उमेरको गर्भधारणमा स्वास्थ्य जोखिम
स्वास्थ्यकर्मीहरूका अनुसार २० वर्ष नपुग्दै गर्भवती हुँदा आमा र बच्चा दुवैमा स्वास्थ्य जोखिम बढ्न सक्छ । किशोरीको शरीर पूर्ण रूपमा विकसित भइनसकेको अवस्थामा गर्भधारण हुँदा गर्भावस्था र सुत्केरीका क्रममा विभिन्न जटिलता आउन सक्छन् ।

कलिलो उमेरमा बच्चा जन्माउँदा सुत्केरी हुन कठिनाइ, सुत्केरीपछि पाठेघर खस्ने तथा पिसाब चुहिरहनेजस्ता समस्या देखिन सक्छन् । कम उमेरका आमाबाट जन्मिएका बच्चामा कम तौल, समयअघि जन्मिने, श्वास फेर्न कठिन हुने तथा शरीरको तापक्रम सन्तुलनमा समस्या हुने जोखिम पनि रहन्छ ।

संक्रमणलगायतका स्वास्थ्य जटिलता देखिन सक्ने र शरीर पूर्ण रूपमा विकसित नभएका कारण प्राकृतिक रूपमा सुत्केरी हुन कठिन भएर शल्यक्रिया गर्नुपर्ने अवस्था पनि आउन सक्छ । कम उमेरमा प्रसूति वा शल्यक्रियाका लागि मानसिक र शारीरिक तयारी पर्याप्त नहुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

अनिच्छित गर्भधारणपछि सुरक्षित स्वास्थ्य संस्थासम्म पहुँच नपुग्दा जोखिम अझ बढ्न सक्छ । असुरक्षित रूपमा गर्भपतन गराउने प्रयासले अत्यधिक रक्तस्राव, संक्रमण तथा अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

संख्या घट्यो, प्रश्न भने बाँकी
जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको कुल संख्या तीन वर्षमा १ हजार ४० बाट ९०५ मा झरेको छ । २० वर्षमुनिका सेवाग्राही पनि ३७ बाट ३० मा झरेका छन् । तर बीचको आर्थिक वर्षमा यही संख्या ४२ पुगेको थियो ।

तीन वर्षमा १०९ जना २० वर्ष नपुगेका किशोरीले सुरक्षित गर्भपतन सेवा लिनु परेको तथ्यांकले किशोरावस्थामा हुने गर्भधारणबारे थप प्रश्न भने खडा गरेको छ ।

यसलाई बालविवाहको प्रत्यक्ष सूचकका रूपमा बुझ्न नमिले पनि गर्भधारणको कारण, परिवार नियोजनका साधनको पहुँच र प्रयोग, किशोर–किशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान तथा अनिच्छित गर्भधारणपछि सुरक्षित स्वास्थ्य सेवामा पहुँचजस्ता विषयमा अध्ययन आवश्यक देखिन्छ ।

स्वास्थ्यकर्मीहरूले विद्यालय तहदेखि नै यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । परिवार नियोजनका साधन, तिनको सही प्रयोग र उपलब्ध स्वास्थ्य सेवाबारे किशोर–किशोरीलाई सहज तथा गोप्य रूपमा जानकारी दिनुपर्ने उनीहरूको भनाइ छ ।

विशेषगरी ग्रामीण क्षेत्रमा सामाजिक लाज, गलत धारणा, अन्धविश्वास तथा परिवार नियोजनका साधन प्रयोगसम्बन्धी भ्रमका कारण किशोरी तथा महिलाले समयमै स्वास्थ्य सेवा लिन नसक्ने अवस्था हुन सक्ने भएकाले सेवा र जानकारी दुवैको पहुँच बढाउनुपर्ने देखिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ