स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा शिक्षकलाई विद्यालय समयमै सञ्चालन गरिएका अतिरिक्त गतिविधिको पारिश्रमिक भुक्तानी गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम फिर्ता गराउन निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले २५ असार २०८३ मा पठाएको पत्रका आधारमा विद्यालयको सम्बन्धमा गरिएको अध्ययन तथा छानबिनपछि नगर शिक्षा समितिको २ असोजको बैठकले रकम असुलउपर गर्ने निर्णय गरेको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए । सोही निर्णय कार्यान्वयनका लागि ८ असोजमा विद्यालयलाई पत्र पठाइएको छ ।
विद्यालयले सम्बन्धित शिक्षकहरूबाट भुक्तानी भएको रकममा १० प्रतिशतले हुने थप रकमसमेत जोडेर विद्यालयको बैंक खातामा जम्मा गराउनुपर्ने निर्णय भएको छ । रकम जम्मा गरेको सक्कल बैंक भौचर १५ दिनभित्र पुतलीबजार नगरपालिकामा पेश गर्नसमेत भनिएको छ । तर यो समाचार तयार पार्दासम्म कुनैपनि शिक्षकहरुले रकम जम्मा नगरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले स्पष्ट पारे ।
छानबिनपछि सार्वजनिक गरिएको विवरणअनुसार १४ जना शिक्षकबाट रकम असुल गर्नुपर्ने देखिएको छ । विवरणमा दीपक कार्कीबाट १ लाख ३८ हजार रुपैयाँ, भिमबहादुर गोदारबाट २ लाख १० हजार, महेशराज शर्माबाट २ लाख १० हजार, विश्वेश्वरप्रसाद पोख्रेलबाट २ लाख १० हजार र भोजराज शर्माबाट १ लाख ३८ हजार रुपैयाँ फिर्ता गराउनुपर्ने उल्लेख छ ।
त्यस्तै जीवन अधिकारी र कमलचन्द्र लामिछानेबाट जनही ७२ हजार रुपैयाँ, अमृतकुमार रेग्मीबाट ४ लाख ५५ हजार, अर्जुन पौडेलबाट २ लाख १० हजार, विष्णुप्रसाद पोख्रेलबाट १ लाख ६१ हजार, नवराज सुवेदीबाट ४ लाख ९० हजार, शान्ति रेग्मी र सफि उल्लाह खानबाट जनही २ लाख ४५ हजार तथा शिवप्रसाद ढकालबाट ८४ हजार रुपैयाँ असुल गर्नुपर्ने विवरणमा छ ।
यी रकममा १० प्रतिशतले हुने जरिवाना/थप रकमसमेत जोडेर असुल गर्नुपर्ने उल्लेख छ । विवरणअनुसार कुल भुक्तानी रकम २९ लाख ४० हजार रुपैयाँ र थप रकम २ लाख ८७ हजार ६४० रुपैयाँ रहेको छ । यसअनुसार जम्मा ३२ लाख २७ हजार ६४० रुपैयाँ विद्यालयको खातामा जम्मा गराउनुपर्ने देखिन्छ । तर हालसम्म उक्त रकम विद्यालयको खातामा फिर्ता नभएको नगर शिक्षा शाखा प्रमुख पुष्पराज जोशीले बताए ।
छानबिनमा विद्यालयले शिक्षकलाई दोहोरो पारिश्रमिक भुक्तानी गरेको विषय उठाइएको छ । नेपाल सरकारले निर्धारण गरेको विद्यालय समयभित्र सञ्चालन भएका बिहानी सत्रको कक्षावापत शिक्षकलाई दिइएको पारिश्रमिकसम्बन्धी विषयमा अख्तियारले छानबिन गरेको हो ।
यससँगै विद्यालयले मासिक तथा वार्षिक शुल्कका नाममा रकम उठाउने विषय पनि छानबिनको दायरामा परेको छ । विद्यालयले विभिन्न शीर्षकमा शुल्क उठाएको पाइएकाले प्रचलित कानुनबाहेक अन्य शीर्षकमा शुल्क निर्धारण नगर्नसमेत भनिएको छ ।
विद्यालय शिक्षा नियमावलीले विद्यालयले लिन पाउने शुल्कका शीर्षक र सीमा तोकेको छ । सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था लागू हुने तहमा शुल्क उठाउन नपाइने कानुनी व्यवस्था छ । शिक्षा मन्त्रालयले पनि सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिँदै आएको छ ।
पुतलीबजार–१ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा यसअघि पनि विभिन्न शीर्षकमा शुल्क लिइएको विषय सार्वजनिक भएको थियो । विद्यालयले परीक्षा बोर्डले तोकेको भन्दा बढी रकम लिएको, प्रमाणपत्रका लागि शुल्क लिएको तथा केही कक्षामा मासिक शुल्क उठाएको विवरणसमेत सार्वजनिक भएको थियो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले सार्वजनिक निकाय र शैक्षिक संस्थामा आर्थिक कारोबार पारदर्शी र कानुनसम्मत हुनुपर्ने बताएका छन् । उनका अनुसार विद्यार्थी र अभिभावकसँग सम्बन्धित रकमको विषयमा समेत जिम्मेवार निकायले जवाफदेही भएर काम गर्नुपर्छ ।
‘विद्यालयजस्तो सार्वजनिक महत्वको संस्थामा आर्थिक अनुशासन र पारदर्शितामा कुनै पनि किसिमको कमजोरी स्वीकार्य हुँदैन,’ घिमिरेले भने ।
अख्तियारको पत्र र शिक्षा समितिको निर्णयपछि विद्यालयले रकम असुल गरी बैंकमा दाखिला गर्ने प्रक्रिया अघि बढाउनुपर्ने भएको छ । साथै शुल्क उठाउने विषयमा समेत प्रचलित कानुन र स्वीकृत मापदण्ड पालना गर्नुपर्ने देखिएको छ ।
के भन्छन् प्रधानाध्यापक पौडेल
त्रिभुवन आदर्श माविका प्रधानाध्यापक प्रेमनारायण पौडेलले अख्तियार र नगर शिक्षा शाखाको निर्णयले विद्यालयको शैक्षिक उन्न्यनमा अहोरात्र खटिने शिक्षकहरू अन्यायमा परेको बताए । उनले विद्यालयमा करिब १२ सय विद्यार्थी अध्ययनरत रहेको र विद्यालय समयमा बालविकासदेखि कक्षा १२ सम्मको कक्षा एकैपटक संचालन गर्न सम्भव नरहेको बताए ।
उनी भन्छन्, ‘बिहानी सत्रमा कक्षा ११ र १२ मा पढाएका शिक्षककहरूको पारिश्रमिक फिर्ता गर्न नियामक निकायले निर्देशन दिएका हुन् । तर भौतिक स्रोत साधन तथा शैक्षिक जनशक्तिको अभावमा एकैपटक सबै कक्षा संचालन सम्भव छैन ।’
शैक्षिक नतिजा सुधार गर्न र गुणस्तर कायम गर्न खटिने शिक्षकको हितविपरीत अख्तियार र शिक्षा शाखाले निर्णय गरेको हुँदा पुनरावलोकनका लागि आग्रह समेत गरेको बताउँदै प्रअ पौडेलले प्रचलित कानुनको पालना गर्न विद्यालय प्रशासन र शिक्षक प्रतिबद्ध भएको बताए ।
नगरपालिकाले कक्षा ११ र १२ को कक्षा दिउँसो संचालन गर्न निर्देशन दिएको भएपनि शिक्षा र व्यवस्थापन संकायका कक्षा बिहानी समयमै संचालन गर्न विद्यालय प्रशासन बाध्य रहेको उनले बताए ।
उनी भन्छन्, ‘हामीले श्रम गरेर पारिश्रमिक लिएको हो, बिल मिलाएर खाएको होइन । बिहानी कक्षाका कारण १० मिनेट ढिला गरी बिहान १०:१० मा विद्यालय संचालन हुन्छ ।’
तर यही विषयलाई लिएर शिक्षकहरूलाई दिएको पारिश्रमक रकम फिता गर्न भनिएको र पत्र प्राप्त भएदेखि हालसम्म विद्यालय व्यवस्थापन समितिको बैठक बस्न नसकेकाले रकम फिर्ता गर्ने विषयमा विद्यालयमा छलफल नभएको उनले बताए ।
सम्बन्धित खबर
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह