सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता

दुर्घटना

सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता

fikkal

काठमाडौं: सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता छन्।

आज आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।

दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी रत्नावती र खाङसाङबाट खटिएको टोलीले उद्धार कार्य सुरु गरेको थियो। उद्धारका क्रममा घटनास्थलबाट तीन महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई प्राथमिक उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको थियो।

घाइते हुनेहरुमा चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङ, दिक्तेल नगरपालिका–३ का ३८ वर्षीया सम्झना राई, सम्झना राईकी १२ वर्षीया छोरी सिवानी राई र खोटाङ, दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित वि.क. रहेका छन् ।

चालकको भनाइ अनुसार दुर्घटनापछि तीन जना यात्री नदीमा बेपत्ता भएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटका सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोर टोलीसहितको संयुक्त टोली खटिएको छ।

मृतकहरूको पहिचान र दुर्घटनाको स्पष्ट कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ