पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिन

पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिन

pokhara-7_gLClrC7rUL

ब्याटिङ र बलिङ दुवैमा कर्णाली याक्समाथि हाबी भएको पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।

सोमबारको पहिलो खेलमा पोखराले कर्णालीलाई ६३ रनले हराउँदै अंक तालिकामा २ अंक जोड्न सफल भएको छ।

कर्णालीलाई हराए पनि पोखरा दुई अंकसहित तालिकाको पुछारमा यथावत छ। सुरुवाती चार खेलमा लगातार हार भोगेको पोखराले पाचौँ खेलमा आएर पहिलो जित निकालेको हो।

पोखरासँग पराजित भएपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ। सुरुवाती दुई खेलमा जित निकालेको कर्णालीले लगातार तेस्रो खेलमा हार भोगेको हो। यो हारसँगै कर्णालीको प्लेअफ यात्रा कठिन बनेको हो। कर्णालीलाई अबको दुई खेलमा जित निकालेर मात्र पुग्दैन नेट रन रेटले पनि फरक पर्नेछ।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। अरिफुल इस्लामले २४, दिपक डुम्रेले २२ र कप्तान सोमपाल कामीले २१ रन बनाए।

कप्तान सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ (फिल्डिङमा बाधा पुर्‍याएको) आउट भए। सूर्य तामाङले १३ रन बनाए।

पोखराका लागि मेहदी हसनले तीन विकेट लिए। धनन्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१७ रनको योगफल तयार पारेको हो। जारी सिजन पहिलो पटक दुई सय रनमाथिको योगफल तयार पारेको थियो।

समग्रमा एनपीएलमा दुई सय रनको योगफल पूरा भएको तेस्रो हो। यसअघि दोस्रो सिजनमा विराटनगरले पोखराविरुद्ध २२० र पोखराले कर्णालीविरुद्ध २०१ रन बनाएको थियो।

पोखराका लागि युवराजले ४५ बलमा १० चौका र ६ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। जारी एनपीएलमा बनेको यो पहिलो शतक हो। उनले ४८ बलमा १०२ रन बनाउँदा मार्क वाटको बलमा अरिफुल स्लामको बलमा क्याच आउट भए।

एनपीएलमा बनेको यो चौथो शतक हो। यसअघि पहिलो सिजन पोखराका आद्रेस गसले ५५ बलमा शतक हानेका गिए।

दोस्रो सिजन कर्णाली याक्सका मार्क वाटले ४१ बलमा तथा पोखराकै आडम रोसिङटनले ५८ बलमा शतक पूरा गरेका थिए।

एनपीएलको तीन सिजनमा चार खेलाडीले शतक बनाए। चारै शतक विदेशी खेलाडीको नाममा रह्यो। एनपीएल इतिहासमा अहिलेसम्म प्लेअफ पुग्न नसकेको पोखराका लागि तीन खेलाडीले शतक हानेका छन्।

दोस्रो विकेटका लागि युवराज र कुशल भुर्तेलले १३६ रनको साझेदारी गरे। कुशल ३९ बलमा सात चौका सहयोगमा ६२ रन बनाउँदा सोमपालकै बलमा विकेट किपरको हातबाट क्याच आउट भए। कुशलले २८ बलमा ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

ओपनर मेहदी हसन १६ बलमा पाँच रन बनाउँदा सोमपालकै बलमा क्याच आउट भए। सन्नी विके तीन र कप्तान चमिका करुणारत्ने ३५ रनमा अविजित रहे।

कर्णालीका लागि सोमपाल कामीले दुई विकेट लिए। उनले आफ्नो स्पेलमा २४ रन खर्चे। मार्क वाटको नाममा एक विकेट रह्यो।

आजै हुने दोस्रो खेलमा काठमाडौं गोखार्ज र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ५ बजे सुरु हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ