पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्णका साथ ४ रजत र १ काँस्य गरी १२ पदक जित्यो ।
दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्य हात पारेको छ । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काँस्य पदक प्राप्त गरेको हो ।
चौथो स्थानमा रहेको पुलिसले १ स्वर्ण, २ रजत र १ काँस्य जित्यो । प्रदेश १ ले २ रजत जित्दा सुदुर पश्चिमले १ रजत र २ काँस्य तथा बाग्मती प्रदेशले १ काँस्य मात्र जित्न सक्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो । यद्यपी, सबै टीमले सबै विधामा सहभागिता भने जनाएको थिएन ।
विजयी टीम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । एपीएफका बिराट थापा तेस्रो भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै थिए । विराट पाँचौ वरियतामा थिए ।
रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराइन् । आर्मीकै ज्ञानु अवाले तेस्रो भइन् । वरियतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा थिइन् । ज्ञानु तेस्रो वरियतामै थिइन् ।
कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै खेलाडी फाइनल भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै थिए । सुरेश चौथो वरियतामा थिए ।
कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराईन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राई तेस्रो नै भइन् ।
स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि परे । बाग्मतीका फर्माचन शेरचन तेस्रो भए । शेरचन पाँचौ वरियतामा थिए ।
स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराईन् । आर्मीकी शारदा बिक तेस्रो भइन् । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा थिइन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा थिए ।
कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार छ स्वर्णको छिनोफानो भएको हो । रिकर्भ मेन टीममा गण्डकीले नेपाल पुलिसलाई फाईनलमा सोझो तीन सेटमा जित्यो । तेस्रो स्थानमा रहेको एपीएफले सुदुरपश्चिमलाई जित्यो ।
रिकर्भ मिक्स टीमतर्फ गण्डकीका गंगा कुँवर र रोजिना थापा मगरको जोडीले बिराट थापा र गीता खत्री सम्मिलित एपीएफलाई ५–३ स्कोरले पराजित गरेको हो । आर्मीले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।
कम्पाउण्ड मेन टीम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो । योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टीमले एपीएफलाई १४४–१४१ स्कोरले हरायो । आर्मीले सुदुरपश्चिमलाई पराजित गर्दै काँस्य पदक हात पारेको हो ।
स्टान्डर्ड वुमन टीम नेपाल आर्मीले प्रदेश १ लाई ६–० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा बिक, सरु तमाङ, खड्ग कुमारी थापा मगर र तुलसी थापा मैदान उत्रेका थिए । यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै काँस्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुश्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेलेका थिए ।
स्टान्डर्ड मिक्स टीमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा बिक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुश्का शेरचन खेलेका थिए । एपीएफले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।
कम्पाउण्ड मिक्स टीममा एपीएफले गण्डकी प्रदेशलाई १४७–१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । रमेश भट्टचन र पार्षदा आचार्यकाे जाेडीले जागृत गुरूङ र माेनिका रानाकाे जाेडीलाई हराएकाे हाे । सुदुरपश्चिमले वाकओभर दिँदा आर्मीले काँस्य जित्यो ।
स्टान्डर्ड मेन टीमतर्फ गण्डकीले सुदर पश्चिमलाई सोझो तीन सेटमा हरायो । गण्डकी टीममा दुर्गा घर्ती मगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारी मैदान उत्रिएका थिए । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।
आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाए । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टीम र मिक्समा प्रतिष्पर्धा गराइएको थियो ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प