सिद्ध माविका छात्रछात्रालाई निःशुल्क स्पोर्ट्स ड्रेस वितरण

सिद्ध माविका छात्रछात्रालाई निःशुल्क स्पोर्ट्स ड्रेस वितरण

sidda-1

पोखरा ।  पोखराको फलेपाटन स्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालयका छात्र छात्राहरूलाई स्पोर्ट्स ड्रेस वितरण गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं –१५ मा रहेको एक मात्र सामुदायिक विद्यालय श्री सिद्ध उच्च माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका झन्डै १५० जना छात्र छात्राहरूलाई पोखरा कम्युनिटी सपोर्ट सेन्टर र सेन्ट मेरिज हाई स्कुलको सहयोगमा स्पोर्ट्स ड्रेस वितरण गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू कमजोर आर्थिक पृष्ठभूमिबाट आउने हुँदा अहिलेको युगमा समय सापेक्ष सिकाई र अतिरिक्त क्रियाकलापका लागि निजी विद्यालय सरहको सिकाई प्रदान गर्न सहयोगी संस्थाहरू सँग हातेमालो गर्दै आएको बताए । उनले निजी विद्यालयका विद्यार्थीहरूले साताको दुई दिन स्पोर्ट्स ड्रेस लगाएर विद्यालय जाँदा आफ्ना विद्यार्थीहरूले पनि “हाम्रो पनि स्पोर्ट्स ड्रेस हुँदैन र सर ?“ भन्दै जिज्ञासा राख्ने गरेकाले विद्यार्थीहरूको बाल मनोविज्ञानमा असर नगरोस् भनेर आफूले वडाध्यक्ष सँग गुनासो राखेको र वडाको पहलमा सहयोगी संस्थाहरूबाट सहयोग मिलेको बताए । साथै कोइरालाले आफ्ना विद्यार्थीहरूलाई ड्रेस प्रदान गर्ने सहयोगी संस्था पोखरा कम्युनिटी सपोर्ट सेन्टर र सेन्ट मेरिज हाई स्कुललाई धन्यवाद दिए।

पोखरा कम्युनिटी सेन्टरकी कोअर्डिनेटर निर्मला मालीले विगतका दिनहरूमा पनि विद्यालयसँग समन्वय गर्दै आएकोमा आज फेरी स्पोर्ट्स ड्रेस वितरण कार्यक्रम मार्फत जोडिन पाउँदा खुसी लागेको बताइन् । कम्युनिटी सेन्टरले विशेष गरेर समुदायमा रहेका कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई प्राथमिकतामा राखेर ट्युसन, खेलकुद, लाइब्रेरी मार्फत सहयोग गर्दै आइरहेकोमा आज वितरण गरिने स्पोर्ट्स ड्रेसले विद्यार्थीहरूलाई खेलकुदमा अझ सहज हुने विश्वास व्यक्त गरिन् । साथै उनले आगामी दिनमा वडासँग समन्वय गर्दै सहयोगको कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

यस्तै, प्रमुख अतिथि तथा वडाध्यक्ष तोरण बहादुर बानियाँले विद्यालयमा पढ्न आउने विपन्न अभिभावकका नानिबाबुहरुलाई स्पोर्ट्स ड्रेस सौजन्य गरेकोमा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे । उनले पूर्वाधारको विकासले मात्र मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, युवा स्वरोजगार र महिला उद्यमशीलतालाई संगसंगै लगे मात्र मानवीय विकास हुने बताए । बानियाँले जहाँ समस्या, त्यहाँ वडा १५ कार्यालय भन्ने उद्देश्य अनुरूप आर्थिक अवस्था कमजोर भएकालाई सम्भव भएसम्म वडाबाट, सम्भव नभए वडामा रहेका धेरै मनकारी सहयोगी संस्थाहरूसँग सहकार्य गरेर नागरिकको आवश्यकतालाई पूर्ति गर्न अग्रसरता लिने बताए । उनले आजको स्पोर्ट्स ड्रेस वितरण कार्यक्रम यही उद्देश्यको निरन्तरता भन्दै आज कक्षा १ देखि ५ सम्मका र अर्को चरणमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई ड्रेस वितरण गरिने बताए।

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर आलेले सहयोगी संस्था द्वय कम्युनिटी सपोर्ट सेन्टर र सेन्ट मेरिज हाई स्कुल प्रति आभार प्रकट गरे ।

आजको स्पोर्ट्स ड्रेस वितरण कार्यक्रममा कम्युनिटी सपोर्ट सेन्टरले १०० थान र सेन्ट मेरिज हाई स्कुलले ५० थान ड्रेस सहयोग गरेका थिए । कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरू, विद्यालयका शिक्षक शिक्षिका लगायत वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ