त्रिविमा स्ववियु निर्वाचन चैत ५ गते, यसरी हुन्छ निर्वाचन

त्रिविमा स्ववियु निर्वाचन चैत ५ गते, यसरी हुन्छ निर्वाचन

sobiu

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा मिश्रित प्रणाली अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । मिश्रित निर्वाचन प्रणाली अनुसार हुन लागेको निर्वाचनमा ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट आउने छन् । त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीबाट निर्वाचन गर्न थालेको हो ।

त्यही आधारमा त्रिविले संसदीय निर्वाचन प्रणाली अनुसार स्ववियु निर्वाचन गराउँदै आएको छ । तर, समानुपातिका लागि भने बन्दसूची हुने छैन । समानुपातिकका लागि नाम त पठाउनुपर्ने हुन्छ तर, गोप्य वा बन्दसूची भने हुँदैन । समानुपातिक सूचीमा नाम समोवश भएका उम्मेदवारमाथि पनि उजुरी तथा दाबी विरोध गर्न पाइन्छ ।

स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २०५१ फागुन २८ गते वा सोभन्दा पछिको जन्ममिति भएको विद्यार्थीले मात्र उम्मेदवारी दिन पाउनेछन् ।

विद्यार्थी संगठनहरूले आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराउने छन् । त्यस्तै विद्यार्थी संगठनहरू बाहेक स्वतन्त्र वा कुनै समूहमार्फत पनि उम्मेदवारी दिन सकिने व्यवस्था छ । समूह बनाउनका लागि क्याम्पसमा समूह दर्ता गराउनुपर्ने हुन्छ । तर, स्वतन्त्रको हकमा भने दर्ता गराउनु पर्दैन ।

कसरी हुन्छ निर्वाचन ?

स्ववियु कमिटीमा ३ जना पदाधिकारी प्रत्यक्षबाट निर्वाचित हुनेछन् । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष छन् । उनीहरूका लागि प्रत्यक्ष प्रणाली अनुसार निर्वाचन हुने त्रिवि विद्यालय कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

त्यसमध्ये उपाध्यक्ष र सहायक सचिव समानुपातिक प्रणालीबाट निर्वाचित भएका सदस्यहरूबाट मनोनित गरिनेछ । स्ववियु कमिटी ११ देखि २१ जना सम्मको हुनेछ ।

त्रिवि स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९ अनुसार प्रत्येक क्याम्पसमा २०० जनासम्म विद्यार्थी भए ११ सदस्यीय कार्य समिति हुनेछ । त्यस्तै २०१ देखि १००० जनासम्म १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म १९ सदस्यीय र ३००१ जनामाथि संख्या रहेकोमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

यदि कुनै क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्य समिति छ भने १० सदस्य समानुपातिक प्रणालीबाट छानिने छन् । ती १० मध्येबाटै २ जनालाई पदाधिकारीमा मनोनित गरिने निर्देशक अधिकारीले बताए ।

एउटा संगठनले १६ जनाको नाम समानुपातिक प्रणालीका पेस गर्नुपर्ने हुन्छ । ‘मानौ कुनै संगठनले १० जनाले नै जित्नेगरी भोट ल्यायो भने पहिला १६ जनाको नाम पठाएको हुन्छ । अनि यसले जति जनाको नाम पनि १० जनाभित्र पार्न पाउँछ,’ निर्देशक अधिकारीले भने ।

त्यसरी समानुपातिक सूचीमा रहेका सदस्यहरूमध्ये जसलाई पनि कार्य समितिमा पठाउन सकिने उनको भनाइ छ । ‘संसदीय निर्वाचनजस्तो हुँदैन । पछि संगठनले सिफारिस गरेर चयन हुने भएकाले यसमा सबैको सम्भावना हुन्छ । १६ नम्बरमा रहेकोलाई पठाउन पनि पायो । १ नम्बरमा रहेकालाई पनि पठाउन पायो,’ उनले भने ।

पूर्ण कार्यसमिति बनेपछि त्यहीबाट उपाध्यक्ष र सहायक सचिव मनोनित गर्नेछ । प्रत्यक्षका लागि अध्यक्ष, कोषाध्यक्ष र सचिवसँगै ८ जना सदस्यका लागि मतदान गर्नुपर्ने निर्देशक अधिकारीले बताए ।

समानुपातिकको हकमा भने सम्बन्धित संघ/संगठन/समूहलाई भोट हाल्नुपर्ने हुन्छ । त्यसमा बढी मत पाउने संगठनले बढी सदस्य पाउने निर्देशक अधिकारीको भनाइ छ ।

२ वर्षको पदावधि रहने कार्यसमितिमा कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुने नसकेमा बढीमा ६ महिनाका लागि त्रिवि कार्यकारी परिषद्ले पदावधि थप गर्न सक्नेछ ।

निर्वाचित भएपछि कुनै कारणले पदाधिकारीमध्ये अध्यक्षको पद रिक्त भएमा उपाध्यक्ष र सचिवको पद रिक्त भएमा सहायक सचिवबाट पदपूर्ति गरिनेछ । अन्य पद रिक्त भएमा कार्य समितिका सदस्यबाट पदपूर्ति हुने व्यवस्था छ ।

समानुपातिक तर्फ मनोनित सदस्यले चित्त बुझ्दो कार्य नगरे सम्बन्धित संगठनले फिर्ता बोलाउन सक्नेछ । त्यसका लागि संगठनले निर्णय गरेर त्यसको पत्र संरक्षक समक्ष प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि संरक्षकले स्ववियु कार्यसमितिबाट नाम हटाई सोही संगठनको बन्दसूचीमध्येबाट सिफारिस भइआएका विद्यार्थीबाट मनोनित गर्ने व्यवस्था छ ।

चैत ५ गते त्रिविका ६२ वटा आंगिक क्याम्पस र १ हजार ४० सम्बन्धनप्राप्त कलेजहरूमा निर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ